म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै सेभिल्ला युरोपा लिगको फाइनलमा
एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै स्पेनिस क्लब सेभिल्ला यूईएफए युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ ।
आइतबार लिस्बनमा भएको सेमिफाइनल खेलमा युनाइटेडमाथि सेभिल्लाले २-१ गोल अन्तरले जित आत्मसाथ गर्दै फाइनल पुगेको हो ।
सेभिल्लालाई प्रतियोगिताको फाइनलमा पुर्याउन सुसो र लुक डे जोँगले समान एक-एक गोल गरेका थिए । भने युनाइटेडको तर्फबाट एक गोल ब्रूनो फर्नांडीसले गरेका थिए ।
खेलमा सुरुवाती अग्रता भने युनाइटेडले लिएको थियो । खेलको नवौं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै ब्रूनो फर्नांडीसले युनाइटेडलाई अग्रता दिलाएका थिए ।
त्यसपछि १-० ले पछि परिरहेको अवस्थामा सेभिल्लाले खेलको २६ औं मिनेटमा सुसोको गोलमार्फत खेल बराबरीमा ल्यायो ।
पहिलो हाफ १-१ को बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा सेभिल्लाले थप एक गोल गर्दा युनाइटेड स्तब्ध बन्यो ।
टिमलाई फाइनल पुर्याउने क्रममा त्यो निर्णायक गोल खेलको ७८ औं मिनेटमा सम्भव भएको थियो । उक्त गोल लुक डे जोँगले गरेका थिए ।
अब सेभिल्लाले उपाधिका लागि फाइनलमा इन्टर मिलान र शाख्तर डोनेस्कबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।