सोमबार र मंगलबार फुटबल खेलाडी र कर्मचारीको कोरोना पीसीआर परीक्षण हुने

सोमबार र मंगलबार फुटबल खेलाडी र कर्मचारीको कोरोना पीसीआर परीक्षण हुने

काठमाडौं ( अनलाइन खेल खबर ) सन् २०२२ मा एसियाली मुलुक कतारमा हुने फिफा विश्वकप छनोटका खेलहरु खेल्न तयारीमा जुट्न लागेको नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्यहरुको कोरोना पीसीआर परीक्षण सोमबार(भोलि) देखि सुरु हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आईतबार गराएको जानकारी अनुसार सोमबार र मंगलबार खेलाडीहरुसँगै प्रशिक्षक, टिम अफिसियल र होस्टल स्टाफहरुको परीक्षण हुनेछ ।

राष्ट्रिय टोलीलाई भदौं १ गतेबाट विश्वकप छनोटको तयारीमा जुटाउन लागिपरेको एन्फाले अहिले सबै खेलाडीहरुलाई क्वारेन्टिनमा राखेको छ । जस अन्तर्गत अहिले काठमाडौं उपत्यका बाहिरका ११ जना खेलाडीहरु होटलमा बसिरहेका छन् भने उपत्यकाका २२ जना खेलाडीहरु घरमा नै बसिरहेका छन्।

सम्पूर्णको पीसीआर परीक्षण ललितपुरस्थित लगनखेलमा अवस्थित पाटन अस्पतालमा गरिनेछ । विश्वकप छनोट अन्तर्गत नेपालले अब मात्र तीन खेल खेल्न बाँकी रहेको छ । सबै खेल घरेलु मैदानमा हुनेछ । अब नेपालले आगामी असोज २२ गते चाइनिज ताइपेईसँग खेल्दै छ । भने त्यसको ५ दिनपछि असोज २७ गते अष्ट्रेलियासँग र कात्तिक २७ गते जोर्डनसँग खेल्ने खेल तालिका रहेको छ ।

यसअघि छनोट खेलमा नेपालले ५ खेल खेलिसकेको छ । जसमा नेपालले मात्र एक खेलमा जित निकाल्दा बाँकी ४ खेल गुमाएको छ । नेपालले एक मात्र जित चाइनिज ताइपेईविरुद्ध हासिल गरेको थियो । उक्त खेलमा नेपाल २–० ले विजयी भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *