
बार्सिलोनाले शीर्षस्थानमा उक्लिने मौका गुमायो : एटलेटिको म्याड्रिडसँग बराबरी
एजेन्सी । स्पेनिस लिग ला लिगा फुटबल अन्तर्गत उपाधि होडमा रहेको बार्सिलोना एटलेटिको म्याड्रिडसँग बराबरी खेलेको छ ।
बार्सिलोनाको घरेलु मैदानमा गएराती भएको खेलमा बार्सिलोना र एटलेटिको म्याड्रिडबीचको खेल २-२ को बराबरीमा सकिएको छ ।
खेलमा बार्सिलोनाले उपहार गोलमार्फत अग्रता बनाएको थियो । खेलको १२ औं मिनेटमा म्याड्रिडका डिएगो कोस्टाको आत्मघाति गोल गरे ।
आत्मघाति गोलले पछि परेको अवस्थामा म्याड्रिडका साउल निगाजले १९ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
पहिलो हाफ १-१ को बराबरीमा सकियो । त्यसपछि लियोनल मेस्सीले पेनाल्टीमार्फत ५० औं मिनेटमा गोल गर्दै बार्सालाई फेरी अग्रता दिलाए । २-१ ले पछि परेको अवस्थामा म्याड्रिडले ६२ औं मिनेटमा पेनाल्टीको अवसर प्राप्त गर्यो ।
जुन अवसरलाई निगाजले सदुपयोग गर्दै खेल बराबरीमा ल्याए । अन्ततः खेल २-२ को बराबरीमा सकियो ।
यो बराबरीले भने बार्सिलोनालाई अंकतालिको शीर्षस्थानबाट फेरी उक्लनबाट बन्चित गरायो । अहिले एक खेल कम खेलेको रियल म्याड्रिड ७१ अंकसाथ अंकतालिकाको शीर्षस्थानमा रहेको छ । भने बार्सिलोना ३३ खेलबाट ७० अंकसहित दोस्रो स्थानमा रहेको छ ।
यता बार्सिलोनालाई बराबरीमा रोकेको एटलेटिको म्याड्रिडको ५९ अंक छ र अंकतालिकाको तेस्रोस्थानमा रहेको छ ।