साफ च्याम्पियनसिप फुटबल अर्को वर्ष हुने

साफ च्याम्पियनसिप फुटबल अर्को वर्ष हुने

काठमाडौं (अनलाइन खेलखबर ) । यसै वर्ष बंगलादेशमा हुने भनिएको साफ च्याम्पियनसिप फुटबल अब अर्को वर्ष हुने भएको छ ।

कोरोना भाइरस ( कोभिड-१९ ) को प्रभावलाई मध्यनजर गर्दै प्रतियोगिता एक वर्षका लागि पछि धकेलिएको हो ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) को सोमबार बसेको भिडियो कन्फ्रेन्समार्फत उक्त कुराको निर्णय गरेको थियो । जसमा सदस्य राष्ट्रहरु नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटानका फुटबल संघका महासचिवको सहभागिता रहेको थियो ।

यस्तै उक्त बैठकमा साफसँगै उमेर समूह अन्तर्गतको यु -१५ साफ, यु -१५ महिला साफ र यु-१८ महिला साफ च्याम्पियनसिप पनि तत्काल अर्को निर्णय नभए सम्म नगर्ने निर्णय गरेको छ ।

साफ च्याम्पियनसिपको इतिहासमा नेपालले उपाधि अहिलेसम्म पनि उचाल्न सकेको छैन । पछिल्ला केहि संस्करणमा प्रतियोगिताको प्रबल दाबेदार भएपनि नेपाल सफल हुन सकिरहेको छैन ।

अघिल्लोपटक बंगलादेशमा नै भएको साफमा नेपाल सेमिफाइनलमा पुगेर बाहिरिएको थियो । सेमिफाइनलमा नेपाल माल्दिभ्ससँग ३–० ले पराजित भएको थियो । नेपाललाई पराजित गर्दै फाइनल पुगेको माल्दिभ्सले उपाधि समेत उचालेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *