थ्री स्टारलाई पराजित गर्दै नेपाल पुलिस आहा ! रारा गोल्डकप फुटबलको फाइनलमा
काठमाडौं (अनलाइन खेलखबर ) । थ्री स्टारलाई पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लब पोखरामा जारी १८ औं संस्करणको आहा ! रारा गोल्डकप फुटबलको फाइनल पुगेको छ ।
बुधबार पोखरा रंगशालामा प्रतियोगिताको पहिलो सेमिफाइनलमा थ्री स्टार माथि ३-० को सहज जित निकाल्दै नेपाल पुलिस प्रतियोगिताको फाइनल प्रवेश गरेको हो ।
खेलमा पुलिसले खेलको आठौं मिनेटमै अग्रता बनाउँन सफल भएको थियो । टिमलाई अग्रता दिलाउँने क्रममा भरत शाहले टिमका लागि पहिलो गोल गरेका थिए ।
पहिलो हाफमा १-० ले अगाडी रहेको पुलिसले दोस्रो हाफमा थप २ गोल थप्यो । दुबै गोल टिमका लागि ५१ औं र ७२ औं मिनेटमा निर कुमार राईले गरेका थिए ।
अब पुलिसले फाइनलमा मनाङ मर्स्याङ्दी र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग शनिबार खेल्नेछ । दोस्रो सेमिफाइनल बिहीबार हुनेछ ।
यता प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।