आर्मीलाई हराउँदै मछिन्द्र पहिलोपटक लिग च्याम्पियन
काठमाडौं (अनलाइन खेलखबर ) । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि मछिन्द्र क्लबले उचालेको छ ।
शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको निर्णायक खेलमा विभागीय टोली त्रिभुवन आर्मीलाई १-० ले पराजित गर्दै मछिन्द्र पहिलोपटक लिगको च्याम्पियन बनेको हो ।
मछिन्द्रलाई च्याम्पियन बन्न खेलको ३३ औं मिनेटमा उपहारस्वरुप प्राप्त गरेको गोल नै प्रयाप्त बन्यो ।
रन्जित धिमालको फ्रिकिक क्लियर गर्ने क्रममा आर्मीका विकास तामाङले आफ्नो पोस्टमै गोल गर्न पुगेका थिए ।
त्यसपछि बाकी समयमा कुनै टिमबाट गोल हुन नसक्दा मछिन्द्र लिगको विजेता हुन पुग्यो भने आर्मीले दोस्रो स्थानमा चित्त बुझायो ।
उपाधिसँगै मछिन्द्रले नगद ५० लाख र दोस्रो स्थानमा रहेको आर्मीले ३५ लाख प्राप्त गर्यो ।