उपाधिका लागि पद्मोदयले माउन्ट भ्युको सामना गर्ने

उपाधिका लागि पद्मोदयले माउन्ट भ्युको सामना गर्ने

विकाश भट्टराई (अनलाइन खेल खबर ) । दाङमा जारी जिल्ला स्तरीय अन्तर विद्यालय टी- ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधिका लागि पद्मोदय स्कुलले माउन्ट भ्युको सामना गर्ने भएको छ ।

दाङको घोराहीस्थित गुलरीया क्रिकेट मैदानमा सोमबार भएको पहिलो सेमिफाइनल खेलमा माउन्ट भ्युले घोराही गोरखालाई ५ विकेटले पराजित गर्दै फाइनल प्रवेश गर्दा दोस्रो सेमिफाइनलमा पद्मोदयले गोरखा लमहीलाई ५१ रनले पराजित गरेको थियो ।

प्रतियोगिताको पहिलो सेमिफाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको गोरखाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २३ रन बनाएको थियो ।

उसका लागि ओपनर ब्याट्सम्यान प्रवेश डाँगीले सर्वाधिक ठूलो पारी खेले । ५६ बलको सामना गरेका उनले ६ चौकाको मद्धतमा ४६ रनको योगदान गरे ।

बलिङतर्फ माउन्ट भ्युका अक्षकुमार रावतले ४ विकेट लिँदा शंकर पोखरेल र सम्राटले पनि समान १ विकेट हात पारे ।

त्यसपछि १ सय २४ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको माउन्ट भ्युले उक्त चुनौतीलाई १९.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।

टिमलाई फाइनल पुर्याउने क्रममा उसका लागि ओपनर ब्याट्सम्यानले ३० रन र भोद्रज केसीले १४ तथा प्रवासकरले ३९ रन बनाए ।

बलिङतर्फ गोरखाका संगीत केसीले २ तथा विभव पोखरेलले १ विकेट हात पारे।

यस्तै प्रतियोगिताको दोस्रो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङ गरेको पद्मोदयले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९ रन बनाएको थियो ।

पद्मोदयका लागि सचिन केसी अर्धशतकीय पारी खेले। अविजित रहेका उनले ६९ बलको सामना गर्दै ३ चौकासहित ५१ रन बनाएका थिए ।

बलिङमा गोरखा लमहीको तर्फबाट किरण बि.केले २ विकेट हात पारे भने श्रीदर पोख्रेल,राजकुमार कुमाल र सुन्दर पोख्रेलले १-१ विकेट लिए ।

त्यसपछि १ सय १० रनको विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको गोरखा लमही १९ ओभरमा आफ्नो सबै विकेट गुमाएर ५८ रनमा सिमित हुँदा पद्मोदयलाई फाइनल पुग्न प्रयाप्त बन्यो ।

टिमका लागि सुदिप क्षेत्रिले १० तथा हेमराज मगरले १५ रन जोड्दा अन्य ब्याट्सम्यानले भने दोहोरो अङ्क जोड्न सकेनन्।

लमही गोरखाको ब्याटिङलाई ध्वस्त पार्ने क्रममा पद्मोदयका कप्तान आशिष ओली र जीवन आलेले ४/४ विकेट हात पारे।

अब यी दुईबीचको फाइनल खेल मंगलबार हुनेछ ।प्रतियोगिताको विजेताले नगद ३० हजार र उप – विजेताले १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताका उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदायमान खेलाडीलाई पनि पुरस्कारको ब्यबस्था गरिएको छ ।