onlinekhelkhabar.com

Complete website for Nepali Sports News

रोमान्चक खेलमा ओमेगाले माछापुच्छ्रेलाई हरायो

काठमाडौं (अनलाइन खेल खबर) । माछापुच्छ्रे क्रिकेट एकेडेमीविरुद्धको पाँच खेलको मैत्रीपूर्ण सिरिजको अन्तिम खेलमा पाहुना टोली काठमाडौंको ओमेगा कलेजले सान्त्वना जित हासिल गरेको छ ।

सिरिजमा सान्त्वना जित हासिल गर्ने क्रममा बिहिबार सिरिजको पाँचौ तथा अन्तिम खेलमा ओमेगाले माछापुच्छ्रेलाई रोमान्चक बनेको खेलमा १ रनले पराजित गर्यो ।

खेलमा ओमेगाले दिएको १ सय २१ रनको लक्ष्य पछ्याउने क्रममा माछापुच्छ्रेले २५.१ ओभरमा आफ्नो सबै विकेट गुमाएर १ सय १९ रनमा समिटिदा ओमेगालाई रोमान्चक जित हासिल गर्न प्रयाप्त बन्यो ।

टिमलाई जितको नजिक पुर्याउने क्रममा माछापुच्छ्रेका लागि दिपेश खत्रीले सर्वाधिक २८ रन र ऋतिक थापा मगरले २४ रन तथा सोहिल कुँवरले १५ रन बनाएका थिए ।

बलिङतर्फ ओमेगाका लागि खेलको प्लेयर अफ द म्याच समेत घोषित भएका सफल केसीले सर्वाधिक ४ विकेट लिँदा सुकेश कुमार यादवले पनि २ विकेट चट्काएका थिए ।

यस अघि पोखरास्थित ईडन हेभेन्स मैदानमा टस जितेर ब्याटिङ रोजेको ओमेगाले २५.४ ओभरमा आफ्नो सबै विकेट गुमाएर १ सय २० रन बनाएको थियो। उसको लागि विबेक बुढाथोकीले सर्वाधिक ६६ रन तथा कप्तान अंकित प्रताप सिंहले २८ रन बनाएका थिए ।

बलिङमा माछापुच्छ्रेका बिनोद नेपालीले ५ तथा कबिन सापकोटाले २ विकेट लिएका थिए।

यो सँगै पाँच खेलको सिरिज माछापुच्छ्रेले ३-१ आफ्नो पक्षमा पार्न सफल भयो । सिरिज अन्तर्गत पहिलो खेल वर्षाले प्रभावित हुँदा रद्द भएको थियो भने त्यसपछि माछापुच्छ्रेले दोश्रो, तेश्रो र चौथों खेल क्रमशः ७ रन, ५१ रन र ३५ रनले जितेको थियो।