onlinekhelkhabar.com

Complete website for Nepali Sports News

ओमेगामाथि माछापुच्छ्रेको रोमान्चक जित

काठमाडौं (अनलाइन खेल खबर ) ।काठमाडौंको ओमेगा कलेज र पोखराको माछापुच्छ्रे क्रिकेट एकेडेमीबीचको पाँच खेलको टी-ट्वान्टी सिरिज अन्तर्गत दोस्रो खेलमा माछापुच्छ्रेले ओमेगामाथि रोमान्चक जित हासिल गरेको छ ।

खेलमा रोमान्चक जित हासिल गर्ने क्रममा सोमबार माछापुच्छ्रेले पाहुना टोली ओमेगालाई ७ रनले पराजित गरेको छ ।

खराब मौसमका कारण १५ ओभरमा घटाईएको खेलमा माछापुच्छ्रेले प्रस्तुत गरेको ८५ रनको लक्ष्यलाई पछ्याएको ओमेगा निर्धारित १५ ओभरमा ७ विकेट गुमाएर ७७ रनमा सिमित हुन् पुग्यो ।

टिमका लागि विवेक बुढाथोकी र सौरभ राजले ९-९ रन बनाउनु बाहेक अन्य खेलाडीले उल्लेख्य योगदान गर्न सकेनन् ।

बलिङमा माछापुच्छ्रेका विनोद नेपालीले ३ विकेट लिए । उनि खेलका प्लेयर अफ द म्याच समेत घोषित भएका थिए ।

त्यसअघि तालचोक स्थित ईडन हेभेन्स मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली माछापुच्छ्रेले निर्धारित १५ ओभरमा ६ विकेट गुमाएर ८४ रन बनाएको थियो ।

टिमले उक्त स्कोर खडा गर्ने क्रममा उसका लागि अरुण पौडेलले २४ तथा प्रकाश आचार्य ले १२ रन बनाएका थिए ।

बलिङतर्फ ओमेगाका सुशांक आचार्यले २ तथा मनिरत्न र रिवाज खड्काले १-१ विकेट लिएका थिए ।

अब यी दुईबीचको तेस्रो खेल मंगलबार हुनेछ । यसअघि पहिलो खेल वर्षाका कारण रद्द हुन् पुगेको थियो ।