पब्लिक युथ च्याम्पियन
काठमाडौं (अनलाइन खेल खबर) । काठमाडौंमा भएको इन्टर कलेज बीबीए क्रिकेट प्रतियोगिताको उपाधि आयोजक पब्लिक युथ क्याम्पसले उचालेको छ ।
शुक्रबार भएको प्रतियोगिताको फाइनल खेलमा केसीएमआइटीलाई ९ विकेटले पराजित गर्दै पब्लिक युथ क्याम्पस प्रतियोगिताको च्याम्पियन बनेको हो ।
खेलमा केसीएमआइटीले प्रस्तुत गरेको १ सय ११ रनको सामान्य लक्ष्यलाई पब्लिक युथले १३.१ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्यो । टिमलाई च्याम्पियन गराउने क्रममा उसका लागि अविजित रहेका ओपनर ब्याट्सम्यान इर्शाद अहमद र रन्जन प्रसाईले क्रमशः ४९ र ३१ रनको योगदान गर्दा अम्रित कार्कीको बलमा आउट हुन् पुगेका सन्देश रेग्मीले २१ रनको योगदान गरेका थिए ।
त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केसीएमआइटीले निर्धारित २० ओभर पूरै खेल्दै ४ विकेट गुमाएर १ सय १० रन बनाएको थियो ।
टिमले मध्यम योगफल बनाउने क्रममा उसका लागि ओपनर ब्याट्सम्यान अमितले सर्वाधिक ठूलो पारी खेले । ३७ बलको सामना गरेका उनले ५ चौकासहित ३७ रन बनाए । यस्तै टिमका लागि अम्रित कार्कीले ३२ र अमित मण्डलले २१ रनको योगदान गरे ।
बलिङतर्फ पब्लिक युथका नरेश थापा , सन्देश रेग्मी र दिवश भट्टराईले १-१ विकेट लिएका थिए ।
उपाधिसँगै पब्लिक युथ क्याम्पसले नगद ८५ हजार प्राप्त गर्दा उप-विजेता बनेको केसीएमआइटीले ३५ हजार प्राप्त गर्यो । यस्तै विधागततर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट ब्याट्सम्यान पब्लिक युथका सुशान्त सिंह दनुवार घोषित हुँदा उत्कृष्ट बलर पनि पब्लिक युथकै सन्देश रेग्मी चयन भएका थिए ।
त्रिभुवन विश्वविद्यालय मातहतमा रहेका बीबीए संकायका क्याम्पसहरुको सहभागिता रहेको यस प्रतियोगितामा यसपटक कुल १७ क्याम्पसहरुको सहभागिता रहेको थियो ।