onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको उपाधि एल्हेबस स्कुललाई

काठमाडौं (अनलाइन खेल खबर )। नरेश सिंह क्रिकेट एकेडेमीको आयोजनामा महोत्तरी जिल्लामा भएको अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको उपाधि एल्हेबस स्कुलले उचालेको छ ।

शुक्रबार भएको प्रतियोगिताको फाइनल खेलमा शिशु ज्ञानलाई ६ विकेटले पराजित गर्दै एल्हेबस सातौं संस्करणको च्याम्पियन बनेको हो ।

खेलमा शिशु ज्ञानले प्रस्तुत गरेको १ सय २० रनको विजयी लक्ष्यलाई एल्हेबस स्कुलले १४.४ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो ।

एल्हेबसलाई प्रतियोगिताको च्याम्पियन बनाउने क्रममा उसका लागि ओपनर ब्याट्सम्यान आशिष मन्डलले ४२ तथा सिधार्थ शाले २८ रन र अनिश सिंहले अविजित रहदै १२ रन बनाएका थिए ।

बलिङतर्फ शिशु ज्ञानका ऋषि यादवले २ तथा सुमन पाण्डे र सर्फराज अन्सारीले १-१ विकेट लिए ।

त्यसअघि जलेश्वरस्थित लक्ष्मी चन्दी मुरार्का माध्यमिक विद्यालयको खेल मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको शिशु ज्ञान निकुञ्ज विद्यालयले निर्धारित २० ओभर पूरै खेल्दै ८ विकेट गुमाएर १ सय १९ रन बनाएको थियो ।

उसका लागि निरज शाहले सर्वाधिक ठूलो पारी खेले ।५२ बलको सामना गरेका उनले ६ चौकाको सहयोगमा ४५ रनको योगदान गरे ।यस्तै विजयले २१ तथा ओपनर ब्याट्सम्यान ऋषि यादवले १२ रन बनाएका थिए ।

बलिङतर्फ एल्हेबस स्कुलका सिधार्थ शाले ३ तथा आशिष मण्डल २ र आरिफ अन्सारीले १ विकेट लिएका थिए ।

विजयी टोलीलाई प्रदेश २ की सांसद रानी शर्मा तिवारी र नेपाल क्रिकेट संघ (क्यान) का कोषाध्यक्ष रोशन सिंहले संयुक्त रुपमा ट्रफी प्रदान गरेका थिए । प्रतियोगितामा कुल १६ टोलीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्