onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

धादिङ समाज च्याम्पियन

काठमाडौं(अनलाइन खेल खबर )। धादिङ जिल्ला स्तरीय टि-ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि धादिङ समाज धादिङ नीलकण्ठले उचालेको छ ।

सोमबार भएको प्रतियोगिताको फाइनल खेलमा त्रिपुरासुन्दरी क्रिकेट टिमलाई ८ विकेटले पराजित गर्दै धादिङ समाज च्याम्पियन बनेको हो ।

खेलमा त्रिपुरासुन्दरीले प्रस्तुत गरेको १ सय १० रनको विजयी लक्ष्यलाई पछ्याएको धादिङ समाजले उक्त चुनौतीलाई १७.३ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।

टिमलाई च्याम्पियन बनाउने क्रममा उसका लागि ओपनर ब्याट्सम्यान सुजित श्रेष्ठले सर्वाधिक ठूलो योगदान गरे । ५४ बलको सामना गरेका उनले ४ चौका र २ छ्क्काको सहयोगमा ४० रन बनाएका थिए । यस्तै अर्का ओपनर अर्जुनले ३० रन जोडे ।

बलिङतर्फ त्रिपुरासुन्दरीका श्री कृष्ण र अमित थापाले १-१ विकेट लिए ।

त्यसअघि चन्द्रोदय माविको खेल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको त्रिपुरासुन्दरी १९.५ ओभरमा आफ्नो सबै विकेट गुमाएर १ सय ९ रनमा सिमित भएको थियो । उसका लागि तल्लो क्रममा ब्याटिङ गर्न आएका निशान खड्काले सर्वाधिक ४७ तथा सुवाश खड्काले १८ रन बनाउनु बाहेक अन्य खेलाडीहरुले दोहोरो अंक समेत जोड्न सकेका थिएनन् ।

बलिङमा धादिङ समाजका लागि सुजित श्रेष्ठले ३ तथा चिरञ्जन ठाकुरले २ विकेट लिए । भने अमित गुरुङ र रोशनले १-१ विकेट हात पारे ।

उपाधिसँगै धादिङ समाजले नगद २५ हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्दा उप – विजेता बनेको त्रिपुरासुन्दरीले नगद १५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो ।

धादिङपोष्ट डटकम र कारु स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा जिल्लाका कुल १० टोलीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्