onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

तीन खेलको मैत्रीपूर्ण खेलमा प्यूठानमाथि घरेलु टोली दाङको क्लिन स्विप

दाङ (अनलाइन खेल खबर) । दाङ र प्यूठानबीचको मैत्रीपूर्ण तीन खेलको सिरिजमा घरेलु टोली दाङले क्लिनस्विप गरेको छ ।

सिरिज अन्तर्गत बुधबार र बिहिबार भएको खेलमा पहिलो दिन दुबै खेलमा प्यूठान फराकिलो अन्तरले पराजित भएको थियो भने सिरिज अन्तर्गत अन्तिम दिन अन्तिम खेलमा पनि प्यूठान घरेलु टोली दाङ ए सँग ७६ रनले पराजित हुन् पुग्दा प्यूठानमाथि दाङले क्लिनस्विप गरेको हो ।

दाङ घोराहीस्थित गुलरिया क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दाङ ए ले निर्धारित २५ ओभरमा ५ विकेट गुमाउँदै १ सय ७५ रन बनाएको थियो ।

उसका लागि ओपनर ब्याट्सम्यान विराटले ३८ रन , आशिषले ३४ रन , सन्देश २१ रन र युवराजले १९ रनको योगदान दिएका थिए ।

बलिङतर्फ प्यूठानका भुपेन्द्र जि.सीले २ विकेट हात पारे । कुल ४ ओभर बलिङ गरेका उनले २६ रन खर्चिएर उक्त विकेट लिएका थिए । यस्तै टिमका लागि सुरेश, अनिल र विशालले पनि समान १/१ विकेट लिएका थिए ।

त्यसपछि दाङले प्रस्तुत गरेको १ सय ७६ रनको विशाल योगफललाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको प्यूठान २२ ओभरमा आफ्नो सबै विकेट गुमाएर ९९ रनमा सिमित हुन् पुग्यो ।

प्यूठानका लागि विशाल पुनले सर्वाधिक २३ रन बनाउँदा विशाल केसीले १५ रन र राकेश पुनले १० रन बनाउन बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् ।

यसअघि बुधबार भएको सिरिजको दोस्रो खेलमा पहिले ब्याटिङ गर्दै दाङले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ८८ रन बनाएको थियो ।

दाङका लागि ओपनर ब्याट्सम्यान सुशान्त सिंह थापाले सर्वाधिक ठूलो पारी खेल्ने क्रममा ९४ रनमा अविजित रहेका थिए ।

यस्तै टोलीका लागि कप्तान राजवीर सिंहले १३ रन , सुजन पुनले २६ र बिनायक डागीले २२ रनको योगदान दिए ।

बलिङतर्फ प्यूठानका भुपेन्द्र जिसीले ४ ओभरमा २१ रन खर्चेर १ विकेट लिए भने स्पिनर उमेश पुनको नाममा एक विकेट लिएका थिए ।

त्यसपछि १ सय ८९ रनको फराकिलो विजयी लक्ष्य पछ्याएको प्यूठान १५ ओभरमा ४९ रनमा अल आउट हुन् पुग्यो ।

प्यूठानका लागि भुपेन्द्र जिसीले १९ रन बनाउन बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले उल्लेख्य योगदान गर्न सकेनन् ।

बलिङतर्फ दाङका सन्देश पान्डेले ३ तथा कमल वली र तुलराम मगरले समान २/२ विकेट लिए भने अमित तामाङ, युवराज सुवेदी र राजवीर सिंहको पनि १/१ विकेट हात पारे ।

दाङ क्रिकेट संघको आमन्त्रणमा सिरिज भएको थियो । आसन्न प्रधानमन्त्री कपको प्रादेशिक छ्नोटको तयारीमा रहेको दाङले सोही प्रतियोगितालाई मध्यनजर गर्दै प्यूठानलाई सिरिजका लागि आमन्त्रण गरेको थियो ।

यता बुधबार प्यूठानका खेलाडीलाई दाङ क्रिकेट संघ अध्यक्ष प्रदीप मजगैया, सचिव सञ्जु क्षेत्री र घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले स्वागत गरेका थिए ।

तीन खेलको सिरिजपछि दाङ क्रिकेट संघका सचिब सञ्जुले प्यूठानको प्रदर्शनलाई राम्रो मान्नु पर्ने बताएका छन् ।

टोलीका खेलाडीमा आत्माविश्वास राम्रो देखिएको र यस सिरिजले आगमी दिनमा खेलाडीमा धेरै सुधार हुने बताएका थिए ।

यस्तै दाङ क्रिकेट संघका अध्यक्ष प्रदीपले आफूले सोचे भन्दा प्यूठानले राम्रो खेलेको धारणा ब्यक्त गरे । यसरी पहिलो पटक ड्युज बल खेलेको कारण पनि हुन् सक्छ ब्याटिङ र फिल्डिङ भने कमजोर देखियो तर पनि प्यूठानले राम्रो सम्भावना भने देखाएको छ ‘उनले भने । अव जिल्लामा पनि ड्युज बलले खेल्न सुरुवात गरे प्यूठानले छिट्टै क्रिकेटमा ठूलो फड्को मार्नेमा उनि विश्वत देखिए ।

प्रतिक्रिया दिनुहोस्