onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

काठमाडौंलाई हराउँदै चितवन पीपीएलको फाइनलमा

पोखरा ( अनलाइन खेलखबर ) | पारस खडकाको कप्तानीमा रहेको चितवन राईनोज दोस्रो संस्करणको पोखरा प्रिमियर लिग ( पीपीएल ) को फाइनल पुग्न सफल भएको छ ।

मंगलबार आफ्नो लिगको अन्तिम खेलमा काठमाडौं गोल्डेन वारियर्सलाई ६० रनले पराजित गरेसँगै अपराजित चितवन प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

खेलमा चितवनले प्रस्तुत गरेको १ सय ६८ रनको विजयी चुनौतीलाई पछ्याँउदै जवाफी ब्याटिङ गरेको काठमाडौं निर्धारित २० ओभर पुरै खेल्दै ९ विकेट गुमाएर १ सय ७ रनमा सिमित हुन पुगेपछि चितवनलाई त्यो जित फाइनल पुग्न प्रयाप्त बन्यो ।

काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले ४० तथा पवन सरार्फले २७ र प्रिथु बास्कोटाले १८ रनको योगदान गर्दा बाकी खेलाडीबाट निराशाजनक प्रदर्शन गर्दा टिम पराजित हुन ।
अब काठमाडौको प्ले अफ पुग्ने झिनो सम्भावना बुधबार हुने लिगको अन्तिम खेलले निर्धारण गर्नेछ । जुन खेल बुटवल र विराटनगरबीच हुनेछ ।

बलिङतर्फ चितवनका सनी पटेलले ३ तथा रोहन मुस्तफाले २ विकेट लिएका थिए । यस्तै करन केसी , भुवन कार्की , राम नरेश गिरी र पारस खडकाले समान १/१ विकेट हात पारे ।

त्यसअघि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभर पुरै खेल्दै मात्र ४ विकेटको क्षतिमा १ सय ६७ रन बनाएको थियो ।

खेलमा पहिलो विकेटका रुपमा करन केसीलाई व्यक्तिगत १ रनमा गुमाएको चितवनले त्यसपछी बाबर र रोहनको उत्कृष्ट साझेदारीमा टिमले यो स्कोर बनाउन सफल भयो ।

दोस्रो ओभरको चौथो बलमा सुशन भारीको बलमा विकेट किपर जय किशन कोल्सावालाबाट क्याच आउट हुन पुगेका करनले १ रन बनाए ।

त्यसपछी चितवनको ब्याटिङलाई बाबर र रोहनले डोराएका थिए । जसअन्तर्गत यी दुईबीच दोस्रो विकेटका लागि १ सय १९ रनको साझेदारी हुन पुगेको थियो ।

१५.२ ओभरमा दोस्रो विकेटका रुपमा पभेलियन फर्किएका बाबरले ७० रनको योगदान गरे । बसन्त रेग्मीको बलमा आउट हुन पुगेका बाबरले ७० रन बनाउँने क्रममा ४७ बलमा ३ चौका र ६ छक्का प्रहार गर्न सफल भएका थिए ।

बाबर पछी मोहम्मद आरिफ शेख अमर सिँह रौटेलाको बलमा क्याच आउट हुन पुगे । उनले टिमका लागि १५ रनको योगदान गर्न भने सफल भए ।

यस्तै अविजित रहेका रोहनले ५९ रन बनाउँदा सनीपटेल पनि १५ रनमा अविजित रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्