साविकको विजेता पोखरा प्रतियोगिताबाट बाहिरियो
पोखरा ( अनलाइन खेलखबर ) | साविकको विजेता समेत रहेको पोखरा पल्टन दोस्रो संस्करणको पोखरा प्रिमियर लिग ( पीपीएल ) बाट बाहिरिने पहिलो टिम बनेको छ ।
सोमबार भएको आफ्नो अन्तिम खेलमा पोखरा धनगढी ब्लुजसँग ५ विकेटले पराजित भएपछी पोखराको यात्रा समाप्त भएको हो ।
खेलमा पोखरा पल्टनले दिएको ८० रनको विजयी चुनौतीलाई धनगढीले ९.१ ओभरमा मात्र ५ विकेट गुमाएर भेटायो ।
धनगढीलाई लिग चरणको अन्तिम खेलमा जित दिलाउने क्रममा दिपक पुनियाले २५ तथा रोडरीको थोमसले १५ रनको योगदान गर्दा कप्तान दिपेन्द्र सिँह एरीले १३ तथा सुभंदु पाण्डेले ११ रन बनाएका थिए ।
बलिङतर्फ पोखराका प्रथमेष डाके र सर्वजितले समान २/ २ विकेट लिए भने ललित राजबम्शीले पनि १ विकेट लिए ।
त्यसअघि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्ने क्रममा पोखराले १६.३ ओभरमा अलआउट हुँदै ७९ रनमा सिमित हुन पुगेको थियो ।
प्रतियोगितामा ब्याटिङले साथ नदिरहेको अवस्थामा पोखराको आज धनगढीसँगको खेलमा पनि ब्याटिङ चल्न नसक्दा टिम कम स्कोरमा रोकिन बाध्य भएको थियो ।
आजको खेलमा मोहम्मद आशिफ शेखले ३२ रन र विनोद भण्डारीले १२ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न नसक्दा टिम झिनो स्कोरमा रोकियो ।
पोखराको ब्याटिङ ध्वस्त पार्ने क्रममा अनिल खरेलले ३ तथा सागर ढकाल , दिपक पुनिया र कमल सिह एरीले समान २/२ विकेट लिन सफल भए ।
आजको खेलमा पराजित हुने टिम पोखरा प्रतियोगिताबाट बाहिरिने पहिलो टिम बन्दा जित हासिल गरेको धनगढीको भने प्ले अफ समीकरण अहिले पनि जिवितै रहने छ ।