वेस्ट ईण्डिजसँगको एकदिवसीय सिरिज पनि भारतको कब्जामा
एजेन्सी – घरेलु टोली भारतले वेस्ट ईण्डिजबिरुद्दको एकदिवसीय सिरिज आफ्नो पक्षमा पार्न सफल भएको छ
आईतबार भएको अन्तिम तथा निर्णायक खेलमा पाहुना टोली वेस्ट ईण्डिजलाई ४ विकेटले पराजित गरेसँगै ३ खेलको सिरिजलाई भारतले २-१ ले जितेको हो ।
खेलमा वेस्ट ईण्डिजले दिएको ३ सय १६ विजयी चुनौतीलाई भारतले ४८.४ ओभरमा ६ विकेट गुमाएर भेटायो ।
भारतलाई सिरिज जिताउँने क्रममा कप्तान विराट कोहलीले सर्वाधिक ८५ रनको योगदान गरे । ८१ बलको सामना गरेका उनले उक्त रन बनाउने क्रममा ९ चौका प्रहार गरे ।
खेलमा भारतले सुरुवात पनि दमदार गरेको थियो । टिमलाई राम्रो सुरुवात दिलाउँने क्रममा ओपनर ब्याट्सम्यान रोहित शर्मा र लोकेश राहुलले पहिलो विकेटका लागी १२२ रनको साझेदारी गरेका थिए ।
२१.२ ओभरमा पहिलो विकेटका रुपमा आउट हुन पुगेका रोहितले ६३ रन बनाए भने लोकेश राहुलले ७७ रनको योगदान गर्दा रविन्द्र जडेजाले ३९ तथा सार्दुल ठाकुरले अविजित रहदै १७ रन जोडेपछि भारतले खेललाई आफ्नो पक्षमा पार्न सफल भयो ।
बलिङतर्फ वेस्ट ईण्डिजका कीमो पॉलले ३ तथा कॉट्रेल अल्जाररी जोसेफ र होल्डरले समान १/१ विकेट लिएका थिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट ईण्डिजले निर्धारित ५० ओभर पुरै खेल्दै ५ विकेट गुमाएर ३ सय १५ रन बनाएको थियो ।
खेलमा मध्यम सुरुवात गरेको वेस्ट ईण्डिजले ईनिङको १४.६ ओभरमा टिमको स्कोर ५७ रन हुँदा ईभिन लुईसलाई पहिलो विकेटका रुपमा गुमाएको थियो ।
रविन्द्र जडेजाको बलमा नभदीप शैनीको हातबाट क्याच आउट हुन अघि लुईसले ५० बलको सामना गर्दै ३ चौकाको मद्दतमा २१ रन बनाएका थिए ।
त्यसपछि वेस्ट ईण्डिजका अर्का ओपनर ब्याट्सम्यान साई होप ब्यक्तिगत ४२ रनमा आउट हुन पुगेका थिए ।
होपपछि टिमका लागी रोस्टन चेस र शिमरोन हेटमरले तेस्रो विकेटका लागी ६२ रनको साझेदारी गरेका थिए ।
२९.२ ओभरमा टिमको स्कोर १ सय ३२ रन हुँदा तेस्रो विकेटका रुपमा आउट हुन पुगेका शिमरोनले ३७ रनको योगदान गर्दा रोस्टनले ३८ रन बनाए ।
चार विकेटपछि वेस्ट ईण्डिजका निकोलस पूरन र कप्तान पोलार्डले टिमको पारीलाई उकास्ने क्रममा यि दुईबीच १३५ रनको साझेदारी हुन पुगेको थियो ।
ईनिङको ४७.५ ओभरमा पाँचौ विकेटका रुपमा आउट हुन पुगेका निकोलसले सर्वाधिक ८९ रनको पारी खेले । ६४ बलको सामना गरेका उनले १० चौका र ३ छ्क्का प्रहार गरे ।
यस्तै कप्तान पोलार्ड भने ७४ रनमा अविजित रहे ।
बलिङमा भारतका नभदिप सैनीले २ तथा सार्दुल ठाकुर , मोहम्मद शामी र रबिन्द्र जडेजाले समान १/१ विकेट लिएका थिए ।
यसअघि सिरिजको पहिलो खेलमा वेस्ट ईण्डिजले भारतलाई ८ विकेटले पराजित गर्दा दोस्रो खेलमा भारतले १ सय ७ रनले वेस्ट ईण्डिजलाई पराजित गरेको थियो ।
एकदिवसीय अघि ३ खेलको टि – ट्वान्टी सिरिजमा पनि भारतले २-१ ले आफ्नो पक्षमा पारेको थियो ।