चितवनको हातमा चार टिमको भविष्य
पोखरा ( अनलाइन खेलखबर ) । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग ( पीपीएल ) मा चितवन राईनोज र बुटवल ब्लाटर्स प्ले अफमा पुगी सक्दा बाकी एक स्थानका लागि समीकरण चितवन राईनोजको अन्तिम खेलमा निर्भर रहेको छ ।
आईतबार दिनको दोस्रो खेलमा बुटबलले धनगढीलाई पराजित गर्दै प्ले अफमा स्थान बनाउँदा एक स्थानको निर्धारण चितवनको हातमा पुगेको हो ।
अहिले अंकतालिकाको पहिलो स्थानमा पारस खडकाको नेतृत्वमा रहेको चितवन राईनोज रहेको छ । लगातार ४ खेलमा जित हासिल गरेको चितवन ८ अंक जोड्दा प्रतियोगिताको फाइनल नजिक रहेको छ ।
प्रतियोगिताको प्रावधान अनुसार लिगबाट पहिलो स्थानमा रहने टिम सीदै फाइनल पुग्नेछ । भने दोस्रो र तेस्रो स्थानमा रहने टिमले फाइनल पुग्न प्रतिश्पर्दा गर्नेछ । यो खेल जसले जित्छ उ फाइनल पुग्नेछ ।
पहिलो स्थानमा रहेको चितवनलाई अहिले प्ले अफ पुगिसकेको बुटवलले पछ्याईरहेको छ । बुटवल अहिले ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकसहित अंकतालिकाको दोस्रो स्थानमा रहेको छ ।
अब चितवन र बुटवलले प्रतियोगितामा एक -एक खेल खेल्न बाकी रहेको छ । चितवनले अन्तिम खेलमा काठमाडौंसँग खेल्न बाकी रहेको छ भने बुटवलले अन्तिम खेलमा विराटनगरसँग खेल्न बाकी रहेको छ ।
यस्तोमा अन्तिम खेलमा चितवन काठमाडौंसँग पराजित भएमा र भारी अन्तरमा बुटबलले विराटनगरलाई पराजित गरेको खण्डमा बुटवलको पहिलो स्थानमा रहदै फाइनल पुग्ने सम्भावना रहन्छ तर नेट रनरेट् चितवनको राम्रो भएको हुँदा चितवन निकै बलियो स्थितिमा रहेको छ र चितवनको लगभग फाइनल पक्का भएको अवस्था छ ।
तर चितवनले आफ्नो अन्तिम खेलमा मंगलबार काठमाडौंलाई हराएको खण्डमा उ आफु फाइनल मात्र पुग्ने छैन त्यसले प्रतियोगिताको बाकी एक स्थानको प्ले अफ खुल्ला गर्नेछ ।
जसमा ४ अंकको भिडन्तमा नेट रनरेटले भूमिका निर्वाह गर्नेछ । काठमाडौं चितवनसँग पराजित भएमा काठमाडौंसँगै बाकीको टिमको सम्भावनामा खेल्ने बातावरण बन्नेछ ।
तर काठमाडौंले चितवनलाई हराएको खण्डमा यी टिमको यात्रा यहि निर आएर समाप्त हुनेछ ।
अब प्रतियोगिताको लिग चरणमा मात्र ३ खेल बाकी रहेको छ । जसमा सोमबार धनगढी र पोखरा भिडने छन यो खेलमा पराजित हुने टिम प्रतियोगिताबाट बाहिरिने पहिलो टिम बन्ने छ । यस्तै मंगलबार चितवन र काठमाडौ र लिगको अन्तिम खेलमा बुधबार विराटनगर र बुटवल भिड्ने छन ।