धनगढीलाई हराउँदै बुटवल प्ले अफमा
पोखरा ( अनलाइन खेलखबर ) । आफ्नो चौथों खेलमा धनगढी ब्लुजलाई ७ विकेटले पराजित गरेपछि बुटबल ब्लाटर्स दोस्रो संस्करणको पोखरा प्रिमियर लिग ( पीपीएल ) को प्ले अफमा पुगेको छ ।
खेलमा धनगढीले दिएको १ सय ४१ रनको विजयी लक्ष्यलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको बुटबलले उक्त चुनौतीलाई १६.४ ओभरमा मात्र ३ विकेट गुमाएर भेटायो ।
बुटबललाई मह्त्वपूर्ण खेलमा जित दिलाउँन भारतीय खेलाडी अफ्ताबुदीन अहमदले अर्धशतकीय पारी खेले । ओपनरका रुपमा मैदान प्रवेश गरेका उनले पहिलो विकेटका रुपमा पभेलियन फर्किनु अघि विश्पोटक पारी खेल्ने क्रममा २३ बलमा १ चौका र ७ छक्काको मद्दतमा ५२ रनको योगदान गरेका थिए ।
अहमदले राम्रो ब्याटिङ गरेर आउट भएपछी टिमले दोस्रो विकेटका रुपमा हर्ष टोङलाई गुमाएको थियो । उनले टिमका लागि ४० रनको योगदान गरे ।
त्यसपछि १३.१ ओभरमा बुटबलले तेस्रो विकेटका रुपमा अर्का ओपनर ब्याट्सम्यान सङखर रानालाई व्यक्तिगत २५ रनमा गुमाएको थियो । यस्तै सिभव सिँह र भिम सार्की अविजित रहदै क्रमश १५ र ७ रन बनाएपछी टिमका लागि प्रयाप्त बन्यो ।
बलिङतर्फ धनगढीका अनिल खरेलले २ तथा दिपक पुनियाले १ विकेट लिए ।
त्यसअघि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको धनगढी ब्लुजले निर्धारित २० ओभर पूरै खेल्दै १९.५ ओभरमा अलआउट हुँदै १ सय ४० रन बनाएको थियो ।
धनगढीका लागि कप्तान दिपेन्द्र सिँहले सर्वाधिक ६१ रनको योगदान गरेका थिए । ४५ बलको सामना गरेका उनले ६ चौका र २ छ्क्काको मद्दतमा उक्त रन बनाएका थिए ।
यस्तै टिमका लागि सन्दिप जोराले ३९ रन तथा सौरभ खनालले १० रन बनाएका थिए ।
बलिङमा बुटवलका अभिनाश बोहराले ४ तथा ललित भण्डारीले ३ र कप्तान सोमपाल कामीले १ विकेट लिएका थिए ।