आरिफ र सनीको उत्कृष्ट पारीमा चितवनद्वारा विराटनगरसामू ठूलो लक्ष्य प्रस्तुत
पोखरा ( अनलाइन खेलखबर ) | पारस खडकाको नेतृत्वमा रहेको चितवन राईनोजले पोखरा प्रिमियर लिग ( पीपीएल ) को आफ्नो चौथो खेलमा अहिले प्रदीप एरीको कप्तातिमा रहेको विराटनगर टाईटन्सको सामना गरिरहेको छ ।
यसअघि लगातार तिन खेलमा जित हासिल गर्दै प्ले अफ लगभग पक्का गरिसकेको चितवनले आज चौथो तथा महत्वपूर्ण खेलमा टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभर पुरै खेल्दै ४ विकेट गुमाएर १ सय ४६ रन बनाएको छ ।
अघिल्ला तिन खेलमा निकै राम्रो ब्याटिङ गरेको भएपनी चौथो खेलमा आएर भने चितवनको ब्याटिङ सोचे अनुरुप चल्न सकेन । जारी प्रतियोगितामा विहानको अवस्थामा रन नबनीरहेको अवस्थामा त्यो कुराले चितवन पनि अछुतो रहेन ।
प्रतियोगितामा ससक्त प्रदर्शन गरिरहेको चितवन आज भने सुरुवाती अवस्थामाबाटै दबाबमा आएको थियो ।
२.५ ओभरमा ओपनर तथा भरपर्दा ब्याट्सम्यान रोहन मुस्तफालाई टिमको स्कोर १३ रन हुँदा गुमाएको चितवनले त्यसपछी कप्तान पारस खडकालाई दोस्रो विकेटका रुपमा गुमाएको थियो ।
उनले ३८ बलको सामना गर्दै ५ चौकाको मद्दतमा ३५ रनको योगदान गरे । पारस पछी टिमले अनिल कुमार शाहलाई सस्तैमा गुमाउने क्रममा मात्र ३ रनमा गुमायो ।
अनिल पछी बाबर हायतले २५ रन जोड्दा अन्त्यतिर सनि पटेल र मोहम्मद आरिफ शेखको उत्कृष्ट साझेदारी गरेपछि टिमले यो स्कोरतर्फ पुगेको थियो ।
अविजित रहेका सनिले ८ बलमा १ चौका र ३ छक्कामा २७ रन बनाए भने आरिफ पनि अविजित रहदै ३९ रनको योगदान गरेका थिए । २२ बलमा ३ चौका र ३ छक्का उनले प्रहार गरे ।
बलिङमा विराटनगरका मोहम्मद जैद आलम , पुनित मेहरा , जितेन्द्र मुखिया र किशोर महतोले समान १/१ विकेट लिएका थिए ।
अहिले चितवनले दिएको १ सय ४७ रनको विजयी चुनौतीलाई पछ्याउदै विराटनगरले जवाफी ब्याटिङ गरिरहेको छ ।