onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

पीपीएलमा काठमाडौंको दोस्रो जित

पोखरा ( अनलाइन खेलखबर ) । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं गोल्डेन वारियर्सले पोखरा प्रिमियर लिग ( पीपीएल ) मा दोस्रो जित हासिल गरेको छ ।

काठमाडौंले जारी प्रतियोगितामा दोस्रो जित हासिल गर्ने क्रममा शनिबार विराटनगरलाई ३६ रनले पराजित गरेको थियो ।

खेलमा काठमाडौंले दिएको १ सय ६० रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको विराटनगर १९.४ ओभरमा अलआउट हुँदै १ सय २३ रनमा सिमित हुन पुगेपछी खेल काठमाडौंले आफ्नो पक्षमा पार्न सफल भयो ।

विराटनगरका लागि पुनित मेहराले सर्वाधिक ५३ रनको योगदान गर्दा कप्तान प्रदीप एरीले २९ रन बनाउनु बाहेक अन्य खेलाडीले उलेख्य योगदान गर्न नसक्दा टिम पराजित हुन पुग्यो ।

बलिङतर्फ काठमाडौंका सुबोध भाटीले ३ तथा बसन्त रेग्मी र अमर सिह रौटेलाले समान २/२ विकेट लिदा सुशन भारी र अमित भट्टराईले पनि १/१ विकेट लिए ।

त्यसअघी पोखरा रंगशाला क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभर पुरै खेल्दै मात्र ५ विकेट गुमाएर १ सय ५९ रन बनाउन सफल भएको थियो ।

खेलमा काठमाडौंलाई यो स्कोरसम्म पुर्याउन भारतीय खेलाडी जय किशन कोल्सावालाको अर्धशतकीय ५५ रनको पारीले महत्वपूर्ण भूमिका निर्वाह गर्यो ।

तेस्रो विकेटका रुपमा पुनित मेहराको बलमा शाहब आलमको हातबाट क्याच आउट हुन पुगेका उनले ४३ बलको सामना गर्दै ५ चौका र १ छक्काको मद्दतमा उक्त रन बनाउन सफल भएका थिए ।

त्यसअघि पहिलो ओभरको अन्तिम बलमा ओपनर ब्याट्सम्यान गौरभ तोमरलाई सून्य रनमा गुमाएको काठमाडौंले दोस्रो विकेट ५.६ ओभरमा गुमाएको थियो । नोमन खानको बलमा अमित श्रेष्ठ व्यक्तिगत १७ रन बनाएर आउट हुन पुगेका थिए ।

त्यसपछी टिमको पारीलाई कप्तान ज्ञानेन्द्र मल्ल र जय किशन कोल्सावालाले अगाडी बढाएका थिए । यी बिच राम्रो साझेदारी हुन पुगेपछि टिम राम्रो योगफलतर्फ अग्रसर भएको थियो ।

जसमा ज्ञानेन्द्र मल्लले पनि ४५ रनको योगदान गरेका थिए । ३३ बलको सामना गरेका उनले ३ चौका र २ छक्काको मद्दतमा उक्त रन बनाएका थिए । यस्तै टिमका लागि सुबोध भाटीले १४ रन थपेका थिए ।

बलिङतर्फ विराटनगरका पुनित मेहराले २ तथा किशोर महतो , जितेन्द्र मुखिया र नोमन खानले समान १/१ विकेट हात पारे ।

यसअघि काठमाडौं प्रतियोगितामा पहिलो खेलमा साविकको विजेता पोखरा पल्टनसँग ९ विकेटले पराजित भएको थियो ।त्यसपछी पनि काठमाडौं दोस्रो खेलमा बुटवलसँग सुपर ओभरमा पराजित हुन पुगेको थियो । लगातार दुई खेलमा पराजित व्यहोरेको काठमाडौं तेस्रो खेलमा आएर जितको स्वाद चाखेको थियो ।
प्रतियोगितामा पहिलो जितहासिल गर्ने क्रममा काठमाडौंले धनगढीलाई १ सय ६ रनले पराजित गरेको थियो ।

भने विराटनगरले यसअघि धनगढीसँग झिनो अन्तरले पराजित हुन पुगेको विराटनगर ५ रनले पराजित हुन पुगेको थियो ।त्यसपछी दोस्रो खेलमा विराटनगरले साविकको विजेता पोखरा पल्टनमाथि सानदार जित हासिल गर्ने क्रममा पोखरालाई ४५ रनले निराश बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्