onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

जय किशनको अर्धशतकमा काठमाडौंद्वारा विराटनगरसामू ठुलो लक्ष्य प्रस्तुत

पोखरा ( अनलाइन खेलखबर ) । जय किशन कोल्सावालाको अर्धशतकीय पारी खेलेपछी काठमाडौं गोल्डेन वारियर्सले विराटनगर टाईटन्सलाई ठुलो विजयी लक्ष्य प्रस्तुत गरेको छ ।

पोखरा रंगशाला क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभर पुरै खेल्दै मात्र ५ विकेट गुमाएर १ सय ५९ रन बनाउन सफल भएको छ ।

खेलमा काठमाडौंलाई यो स्कोरसम्म पुर्याउन भारतीय खेलाडी जय किशन कोल्सावालाको अर्धशतकीय ५५ रनको पारीले महत्वपूर्ण भूमिका निर्वाह गर्यो ।

तेस्रो विकेटका रुपमा पुनित मेहराको बलमा शाहब आलमको हातबाट क्याच आउट हुन पुगेका उनले ४३ बलको सामना गर्दै ५ चौका र १ छक्काको मद्दतमा उक्त रन बनाउन सफल भए ।

त्यसअघि पहिलो ओभरको अन्तिम बलमा ओपनर ब्याट्सम्यान गौरभ तोमरलाई सून्य रनमा गुमाएको काठमाडौंले दोस्रो विकेट ५.६ ओभरमा गुमाएको थियो । नोमन खानको बलमा अमित श्रेष्ठ व्यक्तिगत १७ रन बनाएर आउट हुन पुगेका थिए ।

त्यसपछी टिमको पारीलाई कप्तान ज्ञानेन्द्र मल्ल र जय किशन कोल्सावालाले अगाडी बढाएका थिए । यी बिच राम्रो साझेदारी हुन पुगेपछि टिम राम्रो योगफलतर्फ अग्रसर भएको थियो ।

जसमा ज्ञानेन्द्र मल्लले पनि ४५ रनको योगदान गरेका थिए । ३३ बलको सामना गरेका उनले ३ चौका र २ छक्काको मद्दतमा उक्त रन बनाएका थिए । यस्तै टिमका लागि सुबोध भाटीले १४ रन थपेका थिए ।

बलिङतर्फ विराटनगरका पुनित मेहराले २ तथा किशोर महतो , जितेन्द्र मुखिया र नोमन खानले समान १/१ विकेट हात पारे ।

अब काठमाडौंले प्रस्तुत गरेको १ सय ६० रनको विजयी लक्ष्य पछ्याउदै विराटनगरले अबको केहि समयपछी जवाफी ब्याटिङ गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्