आज पीपीएलमा काठमाडौं र विराटनगर भिड्ने
पोखरा ( अनलाइन खेलखबर ) । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल ) मा आज शनिबार ज्ञानेन्द्र मल्ल कप्तान रहेको काठमाडौं गोल्डेन वारियर्स र प्रदीप एरीको कप्तानीमा रहेको विराटनगर टाईटन्स भिड्दै छन ।
पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बिहान साढे ११ बजेपछि हुने खेल दुवै टिमका लागि उत्तिकै महत्वपूर्ण रहेको छ ।
प्रतियोगिताको प्ले अफसम्म पुग्न पनि दुवै टिमका लागि यो खेलले निकै महत्व राख्नेछ । बिशेष गरी काठमाडौंलाई आज गर या मरको स्थितिमा रहेको छ ।
प्रतियोगितामा काठमाडौंले ३ खेलमा मात्र एक खेल जितेको छ । एक खेल जितेको काठमाडौं अहिले २ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।
काठमाडौंले जारी प्रतियोगितामा पहिलो खेल साविकको विजेता पोखरा पल्टनसँग ९ विकेटले पराजित भएको थियो ।
त्यसपछी काठमाडौं दोस्रो खेलमा बुटवलसँग सुपर ओभरमा पराजित हुन पुगेको थियो । लगातार दुई खेलमा पराजित व्यहोरेको काठमाडौं तेस्रो खेलमा आएर जितको स्वाद चाखेको थियो ।
प्रतियोगितामा पहिलो जितहासिल गर्ने क्रममा काठमाडौंले धनगढीलाई १ सय ६ रनले पराजित गरेको थियो ।
सुरुवाती दुई खेल गुमाएर तेस्रो खेलमा राम्रो कमब्याक गरेको काठमाडौं आज आफ्नो चौथो खेलमा पनि सोही सोच र रणनीतिका साथ मैदानमा उत्रिने छ ।
यता काठमाडौंसँग आज भिड्न लागेको विराटनगरको प्रदर्शन भने सन्तोषजनकनै मान्नु पर्छ ।
पहिलो खेलमा धनगढीसँग झिनो अन्तरले पराजित हुन पुगेको विराटनगर ५ रनले पराजित हुन पुगेको थियो ।
त्यसपछी दोस्रो खेलमा विराटनगरले साविकको विजेता पोखरा पल्टनमाथि सानदार जित हासिल गर्ने क्रममा पोखरालाई ४५ रनले निराश बनाएको थियो ।
त्यसैले आजको खेलमा विराटनगरले आफ्नो लयलाई जारी राख्दै जित निकाल्ने र प्ले अफ नजिक पुग्ने दाउका साथ मैदानमा उत्रिने छ ।