लगातार तेस्रो जितसँगै चितवन प्ले अफमा
पोखरा ( अनलाइन खेलखबर ) | पारस खडकाको कप्तानीमा रहेको चितवन राईनोज दोस्रो संस्करणको पोखरा प्रिमियर लिग ( पीपीएल ) मा लगातार तेस्रो जित हासिल गरेपछि प्ले अफ पुग्ने पहिलो टिम बनेको छ ।
प्रतियोगितामा तेस्रो जित निकाल्ने क्रममा चितवनले शुक्रबार धनगढी ब्लुजलाई ५२ रनले पराजित गरेको थियो । यसअघि चितवनले पहिलो खेलमा साविकको विजेता समेत रहेको पोखरा पल्टनलाई ६ विकेटले पराजित गरेको थियो ।
त्यसपछी आफ्नो दोस्रो खेलमा चितवनले बुटवललाई १ सय १९ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । र लगातार तिन खेलमा जित हासिल गरेको चितवन अहिले ६ अंकका साथ अंकतालिकामा पहिलो स्थानमा समेत यथावत रहेको छ ।
भने पराजित हुन पुगेको धनगढीले ३ खेलमा २ मा हार र १ मा जित हासिल गरेको छ ।
यता आजको खेलमा चितवनले दिएको १ सय ८२ रनको विजयी लक्ष्यलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभर पुरै खेल्दै ८ विकेट गुमाएर १ सय २९ रनमा सिमित हुन पुग्दा खेल टिमले गुमायो ।
धनगढीका लागि कप्तान दिपेन्द्र सिँह एरीले सर्वाधिक ४९ रनको योगदान गरे भने रोड्रीको थोमसले २४ र सन्दिप जोराले २१ रन बनाउनु बाहेक अन्य खेलाडीबाट सन्तोषजनक प्रदर्शन नहुँदा टिम पराजित हुन पुगेको हो ।
बलिङतर्फ चितवनका भुवन कार्कीले सर्वाधिक ३ तथा शनि पटेल र करन केसीले समान २/२ विकेट हात पारे ।
त्यसअघि पोखरा रंगशाला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभर पुरै खेल्दै ५ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो ।
चितवनका लागि मोहम्मद आरिफ शेखले सर्वाधिक ४७ रनको योगदान गरे । अविजित रहेका आरिफले अन्त्यतिर टिमको पारीलाई उकास्ने क्रममा धुवाँधार ब्याटिङ गर्दै ४७ रन बनाए । मात्र २० बलको सामना गरेका उनले २ चौका र ४ छक्का प्रहार गरे ।
र अन्त्यमा आरिफलाई साथ दिएका भारतीय खेलाडी शनि पटेलले पनि राम्रो ब्याटिङ गर्ने क्रममा ३२ रन बनाए । अविजित रहेका उनले पनि १७ बलको सामना गर्दै १ चौका र ३ छक्कामा उक्त रन बनाए ।
त्यसअघि ४.३ ओभरमा टिमको स्कोर २९ रन हुँदा पहिलो विकेटका रुपमा टिमले रोहन मुस्तफालाई व्यक्तिगत ९ रनमा गुमाएको थियो । रोहन आउट भएपछी अर्का ओपनर ब्याट्सम्यान तथा टिमका कप्तान पारस खडकाले २३ रनको योगदान गरेका थिए भने बाबर हायतले ३६ रनको पारी खेलेका थिए ।
बलिङतर्फ धनगढीका कप्तान दिपेन्द्र सिह एरि र अनिल खरेलले समान २/२ विकेट हात पारे । भने अमित यादवको नाममा पनि एक विकेट रह्यो ।
अब प्रतियोगितामा शनिबार काठमाडौं गोल्डेन वारियर्स र विराटनगर टाईटन्स भिड्ने छन । खेल बिहान साढे ११ बजेपछी सुरु हुनेछ ।