
साविकको विजेता पोखरालाई ठुलो चिन्ता
पोखरा ( अनलाइन खेलखबर ) | साविकको विजेता पोखरा पल्टनले पोखरा प्रिमियर लिग ( पीपीएल ) अन्तर्गत आफ्नो चौथो खेलमा आज बुटवल ब्लाटर्ससँग प्रतिष्पर्दा गर्दैछ ।
दिनको पहिलो खेल अर्थात बिहान ९ बजेपछी हुने खेलमा घरेलु टोली पोखरा दोस्रो जितको खोजिमा रहने छ ।
प्रतियोगितामा पहिलो खेलमा काठमाडौंलाई सानदार तरिकाले पराजित गर्ने क्रममा ९ विकेटले पराजित गरेको भएपनी त्यसपछि दुई खेलमा पोखराले निराशाजनक प्रदर्शन गरेको छ ।
जसमा दोस्रो खेलमा पोखरा पारस खडका कप्तान रहेको चितवन राईनोज जुन प्रतियोगिता भरमा बलियो टिमको रुपमा प्रस्तुत भएको छ र आफ्नो उपाधिको दाबेदारीलाई प्रमाणित गर्ने बाटोमा रहेको छ । हो सोही चितवनसँग पोखरा ६ विकेटले पराजित हुन पुगेको थियो ।
यो खेलमा पोखराको ब्याटिङ ध्वस्त नै भएको थियो जसमा पोखरा १ सय ७ रनमा सिमित हुन पुग्दा चितवनले १४.५ ओभरमा मात्र ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।
पहिलो खेलबाट उत्साहित बनेको पोखरा दोस्रो खेलमा चितवनसँग पराजित हुँदा त्यसको असर तेस्रो खेलमा देखीन पुगेको थियो ।
तेस्रो खेलमा पोखरालाई विराटनगरले सहज तरिकाले पराजित गर्यो । यो खेलमा पनि पोखराको ब्याटिङ चल्न सकेको थिएन । १४६ रनको लक्ष्य पछ्याएको भएपनि पोखरा १०० रनमा आउट हुन पुगेको थियो ।
यसले गर्दा पोखरालाई प्ले अफमा पुग्न आजसँगै अन्तिम खेल जित्नै पर्ने दबाबमा रहेको छ ।
यदि आज पोखरा बुटवलसँग पराजित भएमा पोखरा लगभग प्रतियोगिताबाटै बाहिरिने छ ।
यता सोमपाल कामीको बुटवलले अहिले सम्म दुई खेल खेलेको छ । जसमा एक जित र एक हार रहेको छ ।
पहिलो खेलमा काठमाडौंलाई सुपर ओभरमा हराएको बुटवल दोस्रो खेलमा भने चितवन राईनोजसँग १ सय १९ रनको फराकिलो अन्तरले पराजित हुन पुगेको थियो ।
यसअर्थमा प्रतियोगितामा रहिरहन बुटवललाई जितको अर्को विकल्प छैन र टिम सोही रणनीतिका साथ आज पोखराविरुद्द मैदानमा उत्रिने छ ।