चितवनको लगातार दोस्रो जित

चितवनको लगातार दोस्रो जित

पोखरा ( अनलाइन खेलखबर ) | पारस खडकाको चितवन राईनोजले दोस्रो संस्करणको पोखरा प्रिमियर लिग ( पीपीएल ) मा लगातार दोस्रो जित हासिल गरेको छ ।

चितवनले प्रतियोगितामा लगातार दोस्रो जित हासिल गर्ने क्रममा बिहिबार बुटबल ब्लास्टर्सलाई १ सय १९ रनले पराजित गरेको थियो ।

यसअघि पहिलो खेलमा चितवनले पोखरा पल्टनलाई ६ विकेटले पराजित गरेको थियो भने बुटवलको यो पहिलो हार हो । यसअघि बुटवलले काठमाडौंलाई सुपर ओभरमा पराजित गरेको थियो ।

यता आजको खेलमा चितवनले दिएको २ सय ४ रनको विजयी चुनौतीलाई पछ्याउंदै जवाफी ब्याटिङ गरेको बुटवल १८.४ ओभरमा अलआउट हुँदै ८४ रनमा सिमित भएपछी खेल चितवनले आफ्नो पक्षमा पार्न सफल भयो ।

विशाल लक्ष्यलाई पछ्याएको भएपनी बुटवलले सुरुवाती अवस्थाबाटै दबाब महशुस गर्दा टिम चितवनका बलरसामू निरिह बन्यो ।

बुटवलका लागी सिभम सिँहले सर्वाधिक ३३ तथा भिम सार्कीले २१ रन बनाउनुवाहेक अन्य खेलाडीबाट उलेख्य योगदान हुन नसक्दा टिम ठुलो अन्तरले पराजित हुन पुग्यो ।

बलिङतर्फ चितवनका करन केसीले ४ तथा सनी पटेल , बिक्रम भुषाल , बिक्रम शोब ,रोहन मुस्तफा र भुवन कार्कीले समान १/१ विकेट लिन सफल भएका थिए ।

त्यसअघि पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभर पुरै खेल्दै मात्र ३ विकेटको क्षतिमा २ सय ३ रन बनाएको थियो ।

खेलमा चितवनले अहिलेसम्मकै ठुलो योगफल खडा गर्ने क्रममा ओपनर ब्याट्सम्यान पारस खडका र रोहन मुस्तफाले ओपनिङ १ सय १७ रनको साझेदारी हुन पुगेको थियो ।

११.३ ओभरमा पहिलो विकेटका रुपमा आउट हुन पुगेका पारस खडकाले ६३ रनको योगदान गरे । अफ्ताबुदीनको बलमा सोमपाल कामीको हातबाट क्याच आउट हुन पुगेका पारसले ४० बलमा ६ चौका र २ छक्काको मद्दतमा उक्त रन बनाएका थिए ।

पारसपछी बाबर हायतले भने निराशाजनक प्रदर्शन गरे । उनी मात्र १ रनमा आउट हुन पुगेका थिए । उनि अफ्ताबुदीन अहमदको बलमा आउट हुन पुगे ।

त्यसपछी भने मोहम्मद आरिफ शेख ४० रन बनाएर अभिनाश बोहराको बलमा आउट हुन पुगे । यता रोहन मुस्तफा ७० रनमा अविजित रहे भने सनि पटेलले पनि अविजित रहदै ४ रन जोडेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *