पीपीएलमा काठमाडौंको पहिलो जित : दोस्रो चरण पुग्ने सम्भावना जिवितै
पोखरा ( अनलाइन खेलखबर ) | कप्तान ज्ञानेन्द्र मल्लले शतकीय पारी खेलेपछि काठमाडौंले पोखरा प्रिमियर लिग ( पीपीएल ) मा पहिलो जित हासिल गरेको छ ।
बुधबार भएको खेलमा काठमाडौंले दिपेन्द्र सिँह एरीको धनगढी ब्लुजलाई फराकिलो अन्तरले पराजित गर्ने क्रममा १ सय ६ रनले निराश बनायो ।
खेलमा काठमाडौंले दिएको १ सय ८६ रनको विशाल विजयी चुनौतीलाई पछ्याएको धनगढी खेलेपनि १६ ओभरमा अलआउट हुदै ७९ रनमा सिमित हुन पुगेपछी खेल काठमाडौंले आफ्नो पक्षमा पार्न सफल भएको थियो ।
विशाल योगफल पछ्याएको भएपनी धनगढीले सुरुवाती अवस्थादेखिनै निकै खराव ब्याटिङ गरेको थियो । उसका लागि विजयरत्ने १५ तथा रोडरीको थोमसले १० रन बनाउनु वाहेक अन्य खेलाडीबाट सम्झनालायक प्रदर्शन हुन नसक्दा टिमले ठुलो अन्तरले पराजित हुन पुगेको छ ।
बलिङतर्फ काठमाडौंका बसन्त रेग्मीले ३ तथा सुबोध भाटी , पवन सरार्फले समान २/२ विकेट लिदा सुशन भारी र अमित भट्टराईले पनि १/१ विकेट लिए ।
त्यसअघि पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले खराब मौसमका कारण १७ ओभरमा छोट्याईएको खेलमा काठमाडौंले निर्धारित पुरै ओभर खेल्दै ५ विकेटको क्षतिमा १ सय ८५ रन बनाएको थियो ।
खेलमा पहिलो ओभरको तेस्रो बलमा पहिलो विकेटका रुपमा गौरभ तोमरलाई सुन्य रनमा गुमाएको काठमाडौंले त्यसपछी भने सानदार ब्याटिङ गरेको थियो ।
जसमा ओपनर ब्याट्सम्यान जयकिशन कोल्सावालाले ४६ रन तथा अमित श्रेष्ठले ३४ रनको योगदान गर्दा खेलका नायक ज्ञानेन्द्र मल्लले शतकीय पारी खेल्ने क्रममा १ सय रन बनाएका थिए ।
प्रतियोगिताकै पहिलो शतक प्रहार गर्ने क्रममा मल्लले ३८ बलमा ८ चौका र ९ छक्काको मद्दतमा उक्त बनाएका थिए ।
बलिङतर्फ धनगढीका कमल सिह एरीले सर्वाधिक ४ तथा सागर ढकाल १ विकेट लिएका थिए ।
यो जितसँगै काठमाडौंले दोस्रो चरणमा पुग्ने आफ्नो सम्भावना जिवितै राखेको छ । प्रतियोगितामा रहिरहन आज काठमाण्डौलाई जित्नै पर्ने जरुरी रहेको थियो ।
पहिलो खेलमा पोखरा पल्टनसँग ९ विकेटले पराजित भएको काठमाडौं दोस्रो खेलमा सुपर ओभरले निर्धारण गरेको खेलमा बुटवलसँग पराजित हुन पुगेको थियो ।
यता पराजित भएको धनगढीले यसअघि पहिलो खेलमा विराटनगरलाई ५ रनले पराजित गरेको थियो ।