
भारतमाथि वेस्ट ईण्डिजको सहज जित : सिरिज बराबरीमा
एजेन्सी – लेंडल सिमंसको उत्कृष्ट ब्याटिङको मद्दतमा भारत भ्रमणमा रहेको वेस्ट ईण्डिजले ३ खेलको टि – ट्वान्टी सिरिजको दोस्रो खेलमा घरेलु टोली भारतलाई ८ विकेटले पराजित गर्न सफल भएको छ ।
आईतबार भएको खेलमा भारतले प्रस्तुत गरेको १ सय ७१ रनको विजयी चुनौतीलाई पाहुना टोली वेस्ट ईण्डिजले १८.३ ओभरमा मात्र २ विकेट गुमाएर भेटायो ।
ठुलो लक्ष्यलाई पछ्याएको वेस्ट ईण्डिजले खेलमा पनि सुरुवात राम्रो गरेको थियो । टिमलाई राम्रो सुरुवात दिने क्रममा ओपनर ब्याट्सम्यानले ७१ रनको साझेदारी गरेका थिए ।
९.५ ओभरमा पहिलो विकेटका रुपमा वाटिङटन सुन्दरको बलमा आउट भएका ईभिन लुईसले ४० रनको योगदान गरे ।
त्यसपछि शिमरोन हेटिमरले २३ रन बनाएर आउट हुन पुगे । रविन्द्र जडेजाको बलमा विराट कोहलीको हातबाट क्याच आउट भएका उनले २३ रन बनाए ।
शिमरोन पछि टिमलाई जित दिलाउँन महत्वपूर्ण भूमिका निर्वाह गरेका लेंडल सिमंस र निकोलस पूरनले अविजित रहदै क्रमश : ६७ र ३८ रनको योगदान गरेका थिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली भारतले निर्धारित २० ओभर पुरै खेल्दै ७ विकेट गुमाएर १ सय ७० रन बनाएको थियो ।
भारतकालागि शिभम दुवेले सर्वाधिक ठुलो पारी खेलेका थिए । तेस्रो विकेटका रुपमा आउट हुन पुगेका उनले ३० बलको सामना गर्दै ३ चौका र ४ छ्क्काको मद्दतमा ५४ रन बनाएका थिए ।
त्यसअघि भारतले ओपनरबाट राम्रो सुरुवात पाउँन भने सकेन । जसमा पहिलो विकेटका रुपमा आउट भएका लोकेश राहुल टिमको स्कोर २४ रन हुँदा ३.१ ओभरमा ब्यक्तिगत ११ रनमा आउट हुन पुगे ।
लोकेश आउट भएपछी अर्का ओपनर रोहित शर्मा पनि सस्तैमा आउट हुन पुगे । होल्डरको बलमा आउट भएका रोहितले १५ रन बनाए ।
त्यसपछि शिभवले टिमलाई सम्हाले क्रममा अर्धशतकीय पारी खेल्दा कप्तान विराट कोहलीले १९ रन जोडे ।
विराटपछि श्रेयस अय्यरले १० रन तथा रविन्द्र जडेजाले ९ रन बनाउँदा रिषभ पन्त ३३ रनमा अबिजित रहे ।
बलिङतर्फ वेस्ट ईण्डिजका केसरिक विलियम्सले २ तथा हेडन वाल्श,शेल्डन कॉटरेल,खारी पियरे र जेसन होल्डरले समान १/१ विकेट लिए ।
यो सँगै ३ खेलको सिरिज १/१ को बराबरी हुन पुगेको छ । सिरिजको पहिलो खेलमा भारतले वेस्ट ईण्डिजलाई ६ विकेटले पराजित गरेको थियो ।
अब टि – ट्वान्टी सिरिजको अन्तिम खेल बुधबार मुम्बईमा हुनेछ । टि – ट्वान्टी पछि भारत र वेस्ट ईण्डिजबीच ३ खेलको एकदिवसीय सिरिज हुनेछ ।