बंगलादेशसँग नेपाल पराजित : अब नेपालको आशा कास्य पदक
काठमाडौं ( अनलाइन खेलखबर )| १३ औं दक्षिण एसियाली खेलकुद ( साग ) अन्तर्गत पुरुष क्रिकेटतर्फ नेपालले कास्य पदकका लागि खेल्ने भएको छ ।
शनिबार भएको खेलमा बंगलादेशसँग ४४ रनले पराजित भएपछी नेपाल फाइनल प्रवेश गर्न असफल भएको छ । अब नेपालले कास्य पदकका लागि भुटान र माल्दिभ्स मध्य एक टिमसँग सोमबार खेल्नेछ ।
यता खेलमा बंगलादेशले दिएको १ सय ५६ रनको विजयी चुनौतीलाई पछ्याएको नेपालले निर्धारित २० ओभर पुरै खेलेपनि ९ विकेटमा १ सय ११ रनमा सिमित हुन पुगेपछि नेपालले खेल गुमाएको थियो ।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ठुलो पारी खेले । ४३ बलको सामना गरेका उनले ३ चौका र १ छक्काको मद्दतमा ४३ रनको योगदान गरे ।
त्यस्तै दिपेन्द्र सिह एरिले १६ तथा रोहित कुमार पौडेलले ८ रन बनाउनु बाहेक अन्य खेलाडीबाट उलेख्य योगदान गर्न नसक्दा टिमले पराजय व्यहोरेको थियो ।
बलिङतर्फ बंगलादेशका सौम्य सरकार , सुमन खान , तनवीर ईस्लाम र मेहेन्दी हसनले समान २/२ विकेट हात पारे ।
त्यसअघि किर्तिपुरस्थित त्रिवी अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले टस जितेर बंगलादेशलाई पहिले ब्याटिङको निम्तो दिएको थियो ।
जसअनुसार बंगलादेशले निर्धारित २० ओभर पुरै खेल्दै ६ विकेट गुमाएर १ सय ५५ रन बनाउँन सफल भएको थियो ।
सुरुवाती अबस्थामा नेपालले बंगलादेशको भरपर्दा ब्याट्सम्यानलाई सस्तैमा आउट गराएको भए पछी बंगलादेशले त्यसपछी राम्रो पुनरागमन गर्दै कप्तान नाजमुल शान्तोले ७५ रनको पारी खेलेपछि टिम मध्यम लक्ष्यतर्फ पुगेको थियो ।
उनले ६० बलको सामना गर्दै ४ चौका र ४ छक्काको मद्दतमा उक्त पारी खेल्दा अर्का अफिफ हुसेनले पनि अर्धशतकीय ५२ पारी खेल्दा टिम यो योगफल तर्फ पुगेको थियो ।
बलिङतर्फ नेपालका पारस खडकाले ३ तथा दिपेन्द्र सिह एरिले २ र अविनाश बोहराले १ विकेट लिए ।