ब्राभोको टिम अरबीयन्स बन्यो टि -१० लिगको नयाँ च्याम्पियन

ब्राभोको टिम अरबीयन्स बन्यो टि -१० लिगको नयाँ च्याम्पियन

एजेन्सी – युएईमा भएको टि – १० लिगको उपाधि ड्वेन ब्राभोको कप्तानीमा रहेको मराठा अरबीयन्सले उचालेको छ ।

आईतबार राती सम्पन्न प्रतियोगिताको फाइनल खेलमा शेन वाटसनको टिम डेक्कन ग्ल्याडीएटर्सलाई ८ विकेटले पराजित गर्दै मराठा अरबीयन्स प्रतियोगिताको च्याम्पियन बनेको हो ।

शेख जायद स्टेडियम आबुधाबीमा भएको फाइनल खेलमा डेक्कनले प्रस्तुत गरेको ८८ रनको सामान्य लक्ष्य मराठाले ७.२ ओभरमा मात्र २ विकेट गुमाएर भेटायो ।

लक्ष्य पछ्याउँने क्रममा मराठाका ओपनर ब्याट्सम्यान चाडविक वाल्टनले शानदार प्रदर्शन गरे । अबिजित रहेका उनले २६ बलको सामना गर्दै ६ चौका र ३ छ्क्काको मद्द्तमा ५१ रनको योगदान गरे ।

यस्तै टिमका लागी क्रिस लिनले १६ रन तथा नाजिबुल्लाह जद्रानले पनि १२ रन जोडेका थिए ।

बलिङतर्फ डेक्कनका मिघेल र जहुर खानले समान १/१ विकेट लिन सफल भए ।

त्यसअघि टस हारेर सुरुमा ब्याटिङ गरेको डेक्कनले निर्धारित १० ओभर पुरै खेल्दै ८ विकेटको क्षतिमा ८७ रन बनाएको थियो।

डेक्कनका लागी आसिफ खानले सर्वाधिक २५ रनको योगदान गर्दा भानुका राजपक्षाले २३ रन बनाउनु बाहेक अन्य खेलाडी नचल्दा टिम कम स्कोरमा रोकिन बाध्य भयो ।

बलिङतर्फ मराठाका कप्तान ब्राभोले २ विकेट हात पार्दा मिचेल म्याक्लेनघन, लासिथ मालिंगा र कासुन रजिथाले समान १/१ विकेट लिएका थिए ।

फाइनलको प्लेयर अफ द म्याच टिमलाई च्याम्पियन बनाउँने क्रममा अर्धशतकिय पारी खेलेका चाडविक वाल्टन घोषित हुन पुगे ।

यस्तै प्रतियोगिताकै सर्बोउत्कृष्ट खेलाडी क्रिस लिन चयन हुन पुगे ।

यता यसपटकको संस्करणमा नेपालका दुई खेलाडीहरु पारस खड्का र सन्दिप लामिछानेले सहभागि जनाएका थिए ।

सन्दिपको कर्नाटका टस्कर्स र पारसको टिम आबुधाबी सुपर लिगबाटै बाहिरिएका थिए । मौका दुबैले राम्रोसँग पाएनन सन्दिपले प्रतियोगितामा ५ खेल खेले भने पारसले मात्र ३ खेल खेले ।

सन्दिपले ५ विकेट लिदा पारसले ४ रन र १ विकेट लिन सफल भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *