शरदको उत्कृष्ट ब्याटिङमा हङकङमाथि नेपालको सहज जित
काठमाडौं ( अनलाइन खेलखबर ) | शरद भेषवाकरले उत्कृष्ट अर्धशतकीय पारी खेलेपछि बंगलादेशमा जारी ईमर्जिङ एसिया कपको आफ्नो दोस्रो खेलमा नेपालले हङकङलाई ४० रनले पराजित गरेको छ ।
खेलमा नेपालले दिएको २ सय १८ रनको विजयी चुनौतीलाई पछ्याउदै जवाफी ब्याटिङ गरेको हङकङ ४५.५ ओभरमा अलआउट हुँदै १ सय ७७ रनमा सिमित हुन् पुगेपछि खेल नेपालले आफ्नो पक्षमा पार्न सफल भएको थियो ।
हङकङका लागि किनचित शाहले अर्धशतकीय ५३ रन तथा ईशान नवाजले ४४ रन र हारुन मोहम्मदले २६ रन बनाउनु बाहेक अन्य खेलाडीबाट उलेख्य योगदान हुन् नसक्दा टिम मध्यम लक्ष्य पछ्याएको भएपनि पराजित हुन् पुग्यो ।
बलिङतर्फ नेपालका अविनाश बोहरा र करन केसीले समान ३/३ विकेट हात पारे भने सुशान भारीको नाममा पनि २ विकेट रहयो ।
त्यसअघि टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभर पुरै खेल्दै सबै विकेट गुमाएर २ सय १७ रन बनाएको थियो ।
नेपालका लागि शरद भेषवाकरले सर्बाधिक ठुलो पारी खेलेका थिए । सुरुवाती दुई ब्याट्सम्यानलाई सस्तैमा गुमाएको नेपालको पारीलाई सम्हाल्दै शरद र दिपेन्द्र सिह एरिले टिमको ईनीङलाई बढाएका थिए ।
२.१ ओभरमा टिमको स्कोर ३ रन हुदा कप्तान ज्ञानेन्द्र मल्ललाई सुन्य र कुशल भुर्तेललाई १ रनमा गुमाएको नेपालले त्यसपछी तेस्रो विकेटका लागि ८३ रनको साझेदारी पाएको थियो ।
तेस्रो विकेटका रुपमा पभेलियन फर्किएका दिपेन्द्रले ३७ रन बनाए त्यसपछी शरदलाई मोहम्मद आरिफ शेखले साथ् दिने क्रममा ४२ रनको योगदान गरे ।
यस्तै खेलका नायक बनेका शरदले भने १३९ बलको सामना गर्दै ९ चौकाको मद्दतमा ८९ रनको योगदान गर्न सफल भएका थिए ।
उनि मोहम्मद एजाज खानको बलमा निजाकत् खानको हातबाट क्याच आउट हुन् पुगेका थिए । यस्तै टिमका लागि बिनोदले पनि १५ रन जोडे ।
बलिङतर्फ हङकङका मोहम्मद एजाज खानले ३ तथा ईशान नवाज र नासिरुल्ला रानाले समान २/२ विकेट लिदा अफताब हुसेनले पनि १ विकेट लिन सफल भएका थिए ।
यो जितसँगै सेमिफाइनल समीकरण जिबितै राखेको नेपालले प्रतियोगिताको समूहको अन्तिम खेलमा आयोजक बंगलादेशसँग आउँदो सोमबार खेल्नेछ ।