एमसिसीसँग पोखरा -११ पराजित
काठमाडौं ( अनलाइन खेलखबर ) | काठमाडौं पछि पोखरा पुगेको विश्वको सबैभन्दा पुरानो मध्यको एक मेरिलिबोन क्रिकेट क्लब (एमसिसी) ले स्थानिय पोखरा-११ लाई ४२ रनले पराजित गरेको छ ।
सोमबार भएको खेलमा एमसीसीले दिएको १ सय ६२ रनको विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको पोखरा -११ निर्धारित २० ओभर पुरै खेल्दै ८ विकेटको क्षतिमा १ सय १९ रनमा सिमित भएपछि खेल एमसिसीले आफ्नो पक्षमा पार्न सफल भएको थियो ।
पोखरा -११ का लागि दिपेश खत्रीले सर्वाधिक ठुलो योगदान दिए । पुर्व राष्ट्रिय क्रिकेटर समेत रहेका खत्रीले अविजित पारी खेल्ने क्रममा ४५ रनको योगदान दिदा गोविन्द प्रधानले २९ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले उल्लेख योगदान दिन नसक्दा टिम पराजित हुन पुग्यो ।
बलिङतर्फ एमसीसीको माइल्स ह्यामन्ड, विल रोड्स र एड योङ्गले समान २/२ विकेट हात पार्दा यासिर अराफात र विल भान्डरस्परको नाममा पनि १/१ विकेट रहयो ।
त्यसअघि पोखरा रंगशालामा भएको खेलमा ट्स हारेर पहिले ब्याटिङ गरेको एमसीसीले निर्धारित २० ओभर पुरै खेल्दै ९ विकेटको क्षतिमा १ सय ६१ रन बनाउन सफल भएको थियो ।
एमसीसीको लागि यासिर अराफातले सर्वाधिक धेरै रन बनाउने क्रममा टिमका लागि ३९ रनको योगदान गरे । यस्तै जिम्मी एडम्स र रिचार्ड ग्रेटोरेक्सले समान २९/२९ रन बनाएपछी टिमले ठूलो स्कोर योगफल खडा गर्न सफल भएको थियो ।
बलिङतर्फ पोखरा-११ का लागि अमृत गुरुङ र
गोबिन्द प्रधानले समान ३/३ विकेट लिए भने
सुबास भण्डारीले २ र दिपेश खत्रीले १ विकेट लिएका थिए ।
पोखरा भ्रमणमा रहेको एमसीसीले अब मंगलबार गण्डकी प्रदेश मुख्यमन्त्रि-११ सँग अन्तिम टि – ट्वान्टी खेल खेल्नेछ । खेल बिहान ९ बजेपछी सुरु हुनेछ ।