onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

चितवनको लगातार दोस्रो जित

काठमाडौं ( अनलाइन खेलखबर ) । चितवन राईनोजले काठमाडौंमा जारी वुमेन्स च्याम्पीयन्स लिग ( डब्लुसीएल ) मा लगातार दोस्रो जित हासिल गरेको छ ।

आज शुक्रबार भएको दिनको दोस्रो खेलमा ललितपुर फालकोनलाई चितवन राईनोजले ८९ रनले पराजित गरेको थियो ।

यसअघि चितवनले आफ्नो पहिलो खेलमा काठमाडौंलाई ५ विकेटले पराजित गरेको थियो भने ललितपुर विराटनगरसँग ८२ रनले पराजित गरेको थियो ।

यता आजको खेलमा चितवनले दिएको १ सय ३६ रनको विजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गरेको ललितपुर १७.१ ओभरमा अलआउट हुँदै मात्र ४६ रनमा सिमित भएपछी खेल चितवनले आफ्नो पक्षमा पार्न सफल भयो ।

ठुलो लक्ष्य पछ्याएको भएपनि ललितपुरले सुरुवातबाटै खराब ब्याटिङ गर्ने क्रममा ३७ रन बनाउँदा ७ विकेट गुमाएको थियो ।

चितवनका लागि नेरी थापाले अविजित रहदै सर्बाधिक १७ रनको पारी खेल्नु बाहेक अन्य खेलाडीले उलेख्य योगदान गर्न नसक्दा टिमले लगातार दोस्रो हार व्यहोर्न बाध्य भएको हो ।

बलिङतर्फ चितवनकी रितु कौनौजिया र कबिता गौतमले समान २/२ विकेट लिए भने सुमन खतिवडा र रेखा रावलले पनि १/१ विकेट हात पारे ।

त्यसअघि किर्तिपुरस्थित त्रिवी अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभर पुरै खेल्दै मात्र ३ विकेटको क्षतिमा १ सय ३५ रन बनाएको थियो ।

चितवनका लागि रितु कनौजियाले सर्बाधिक ५८ रनको योगदान गरिन । अविजित रहेकी उनले ५५ बलको सामना गर्दै ८ चौकाको मद्दतमा उक्त अर्धसतकीय पारी खेलिन ।

यस्तै टिमका लागि कन्चन श्रेष्ठले १५ तथा कप्तान ईन्दु वर्माले १० र अन्त्यमा प्यारी चौधरीले अविजित रहदै २२ रनको योगदान गरेपछि चितवनले त्यो स्कोरतर्फ पुगेको थियो ।

बलिङतर्फ ललितपुरको कप्तान नेरी थापाले सर्बाधिक २ तथा करुणा भण्डारीले १ विकेट हात पारिन ।

प्रतिक्रिया दिनुहोस्