डब्लुसिएलमा विराटनगरको लगातार दोस्रो जित
काठमाडौं ( अनलाइन खेलखबर ) । विराटनगरले काठमाडौंमा जारी नेपालको पहिलो महिला क्रिकेट लिग वुमेन्स च्याम्पियन्स लिग ( डब्लुसिएल ) मा लगातार दोस्रो जित हासिल गरेको छ ।
आज शुक्रबार दिनको पहिलो खेलमा विराटनगर टाईटन्सले पोखरा पल्टनलाई ६ विकेटले पराजित गर्न सफल भएको छ । यो खेलसँगै विराटनगर प्रतियोगिताको ४ अंकसहित अंकतालिकाको पहिलो स्थानमा यथावत रहेको छ । यता पोखरा प्रतियोगितामा लगातार दुई खेलमा हार ब्यहोरेको छ |
खेलमा पोखराले प्रस्तुत गरेको ९५ रनको सामान्य विजयी लक्ष्यलाई विराटनगरले १५ ओभरमा मात्र ४ विकेट गुमाएर उक्त चुनौतीलाई पुरा गर्यो ।
विराटनगरको जितमा लक्ष्मी चौधरीले २३ तथा ज्योति पाण्डेले २२ रन जोडिन् । अश्मिना कर्माचार्यले अविजित १६ र डोली भट्टले १२ रनको योगदान गरेकी थिईन ।
बलिङतर्फ पोखराकी सिता राना मगरले २ तथा अनुराधा चौधरीले १ विकेट लिईन् ।
त्यसअघि किर्तिपुरस्थित त्रिवी अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै पोखराले निर्धारित २० ओभर पुरै खेल्दै ५ विकेटको क्षतिमा ९४ रन बनाएको थियो ।
विराटनगरको कसिलो बलिङसामू सुरुवाती अबस्था देखि पोखरा निरिह जस्तो देखिएको थियो । जसअन्तर्गत तेस्रो ओभरको तेस्रो बलमा रुबी पौदारलाई व्यक्तिगत १ रनमा गुमाएको पोखराको दोस्रो विकेट टिमको स्कोर १३ रन हुँदा बिन्दु रावललाई गुमाएको थियो । उनले मात्र ५ रन जोडिन ।
त्यसपछी पनि पोखराले विकेट जाने क्रम रोकिएन जसमा रेवती धामीले १२ रन बनाएर पभेलियन फर्किईन । रेवती पछी टिमले कप्तान सिता राना मगरलाई पनि सस्तैमा गुमायो ।
२९ बलको सामना गरेकी उनले १६ रन बनाईन । यस्तै अन्जली चन्दले १५ तथाअन्त्यतिर कबिता कुवरले अविजित रहदै २२ रनको पारि खेलपछि टिमले सम्मानजनक स्कोरतर्फ पुगेको हो ।
बलिङतर्फ विराटनगरकी सबनम राईले सर्बाधिक २ तथा सोनु खडकाले १ विकेट लिएकी थिइन् ।
जारी लिगमा यसअघि पोखरा पहिलो खेलमा काठमाडौंसँग ठुलो अन्तरले पराजित हुने क्रममा ८२ रनले पराजित हुन् पुगेको थियो । भने विराटनगरले आफ्नो पहिलो खेलमा ललितपुरलाई ४ विकेटले पराजित गरेको थियो ।