सिपीएलमा सन्दिपको टिमको दोस्रो जित
असोज ४ , अनलाइन खेलखबर || वेस्ट ईन्डिजको क्रिकेट लिग क्यारेबियन क्रिकेट लिग ( सिपिएल ) मा सन्दिप लामिछानेको टिम बारबाडोस ट्रिडेंट्स ले दोस्रो जित हासिल गरेको छ ।
शनिवार बिहान भएको खेलमा सन्दिपको टिम बारबाडोस ट्रिडेंट्स ले सेंट लूसिया जोक्सलाई ७१ रनले पराजित गरेको छ ।
खेलमा बारबाडोस ट्रिडेंट्सले दिएको १ सय ७३ रनको विजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गरेको सेंट लूसिया जोक्स १४.५ ओभरमा आफ्नो सबै विकेट गुमाएर मात्र १ सय १ रनमा सिमित हुन पुगेपछि सन्दिपको टिम विजयी हुन पुगेको हो ।
सेंट लूसिया जोक्सलाई हार्डस विलोजेनले सर्बाधिक ३१ रनको योगदान गरे भने कॉलिन डी ग्रैंडहोमले २८ रन बनाउनु बाहेक अन्य खेलाडीबाट उलेख्य योगदान गर्न नसक्दा टिम पराजित हुन पुग्यो ।
बलिङतर्फ बारबाडोस ट्रिडेंट्सका लागि कप्तान जोशन होल्डर र जोशुआ बिशपले समान २/२ विकेट लिए भने रेमन रिफ़र, जोश लालोर र सन्दिप लामिछानेले १ /१ विकेट हात पारे ।
सन्दिपले ३.५ ओभर बलिङ गर्दै २९ रन खर्चिएर १ विकेट लिए । यो सँगै सन्दिपले जारी प्रतियोगितामा कुल ५ विकेट लिईसकेका छन ।
त्यसअघि डैरन सैमी नेशनल क्रिकेट स्टेडियममा भएको खेलमा बार्बोड्सले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभर पुरै खेल्दै ६ विकेटको क्षतिमा १ सय ७२ रन बनाएको थियो ।
बार्बोड्सका लागि जस्टिन ग्रीव्सले सर्बाधिक पारी खेल्ने क्रममा अर्धशतकीय ५७ रन बनाए । ४५ बलको सामना गरेका उनले ६ चौका र २ छक्काको मद्दतमा उक्त रन बनाउन सफल भएका थिए ।
यस्तै टिमका लागि जॉनसन चार्ल्सले २८ तथा जोनाथन कार्टरले ३० रनको योगदान गरेका थिए ।
बलिङतर्फ सेंट लूसिया जोक्सका केसरिक विलियम्सले ३ तथा ओबेड मैककॉयले २ र रहकेम कॉर्नवालले १ विकेट लिएका थिए ।
यो जितसगै बार्बोड्स कुल ४ खेलबाट २ मा जित र २ मा हार सहित ४ अंकसहित अंकतालिकाको चौथो स्थानमा रहेको छ ।