दोस्रो अभ्यास खेलमा नेपाली युवा क्रीकेट टोलीको शानदार जीत
भदौ १२ , अनलाइन खेलखबर || एसिया कपको अन्तिम तयारी गरिरहेको नेपाली यु – १९ क्रीकेट टिमले आफ्नो दोस्रो अभ्यास खेलमा श्रीलंकाको स्थानिय क्लन बादुरेलिया सीसीलाई डिएल मेथडमार्फत ८० रनले पराजित गर्न सफल भएको छ ।
बिहीवार भएको खेलमा नेपालले प्रस्तुत गरेको १ सय ६५ रनको मध्यम लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको बादुरेलिया २३.१ ओभरमा अल आउट हुँदै ८४ रनमा समेटिएपछि खेल नेपालले आफ्नो पक्षमा पार्न सफल भएको हो ।
बलिङतर्फ नेपालका स्पिनर सागर ढकालले सर्बाधिक ५ विकेट हात पारे । ५.१ ओभर बलिङ गरेका उनले मात्र १८ रन खर्चेर उक्त बिकेट लिन सफल हुँदा कमल सिंह ऐरी र पवन सरार्फले पनि समान २/२ विकेट तथा कुशल मल्लले १ विकेट हात पारे ।
त्यसअघि श्रीलंकाको सरे क्रिकेट मैदानमा भएको खेलमा ट्स जितेर नेपालले पहिले ब्याटिङ गर्दै ४६.४ ओभरमा आफ्नो सबै बिकेट गुमाएर २ सय ६ रन बनाएको थियो ।
तर पछि मैदानमा वर्षाले प्रभावित गरेपछी बादुरेलियाले ३१ ओभरमा १ सय ६५ रनको चुनौतीलाई पूरा गर्ने भएको थियो ।
ब्याटिङमा नेपालका लागि ओपनर रित गौतमले सर्वाधिक ७६ रनको पारी खेले भने
हरि बहादुर चौहानले पनि ५६ रनको योगदान गरेका थिए ।
यसअघि पहिलो अभ्यासमा भने नेपाल क्लब सिन्हालिज स्पोर्ट्स क्लबसँग ३ विकेटले पराजित हुन पुगेको छ ।
सेप्टेम्बर ५ देखि १४ तारिखसम्म श्रीलंकामा हुने एसीसी यू–१९ एसिया कप खेक्नु अघि श्रीलंकामा नेपालले अब अरु थप एक अभ्यास खेल खेक्ने कार्यक्रम रहेको छ ।