
वाइवाइ ग्रेट हिमालय क्रिकेट एकेडेमी आमन्त्रण कप खेल्न युएई प्रस्थान गर्दै
भदौ ९ , अनलाइन खेलखबर || नेपालको चर्चित तथा प्रतिष्ठित क्रिकेट एकेडेमी वाइवाइ ग्रेट हिमालय क्रिकेट एकेडेमी नेपालको प्रतिनिधित्व गर्दै युएईमा हुने वाईटिसीए आमन्त्रण कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन आज युएई प्रस्थान गर्दैछ |
युएईको अजमान शहरमा अगस्ट २६ देखि ३० सम्म हुने उक्त कपमा ग्रेट हिमालय क्रिकेट एकेडेमीसगै योग ट्यालेन्ट क्रिकेट एकडेमी , एमएस धोनी क्रिकेट एकेडेमी , भिक्टोरिया क्रिकेट एकेडेमी र किग्स क्रिकेट एकेडेमीको सहभागिता रहने बताईएको छ |
१७ बर्षमुनिका खेलाडीहरुको सहभागिता रहने उक्त कपलाई ३० ओभरमा खेलाईने बताईएको छ |
युएईका प्रतिष्ठित एकेडेमीहरुको सहभागीता रहने यो प्रतियोगितालाई वाईवाई ग्रेट हिमालय क्रिकेट एकेडेमीले धेरै नयाँ अनुभव बटुल्ने अबसरको रुपमा लिएको छ |
बिगतमा बंगलादेशमा चारपटक , भारतमा तिनपटक र यसअघि युएईको एक पटक भ्रमण गरिसकेको एकेडेमीले बिगत ६ वर्षदेखि नियमित प्रशिक्षण , प्रतियोगिता र क्रिकेट भ्रमण गर्दै युवा खेलाडीहरुको प्रतिभा निखार्ने काममा निरन्तर लागिपरेको छ |
युएई भ्रमणमा जान लागेको एकेडेमीको नेतृत्व डिकेन्द्र शाह ले गर्नेछन भने खेलाडीहरुमा अमित ढकाल ,पियुष कुमार झा , विकेश श्रेष्ठ , अनुरोध पन्त , संदेश दवाडी ,प्रतिक ढुंगाना , आदित्य कपुरी , बिराज शर्मा , राजु भुषाल , सचिन घिमिरे , अनुभव कार्की रहेका छन |
यस्तै टोलीमा प्रशिक्षकमा सुदिप शर्मा ,ब्यबस्थापकमा सुमन राज कार्की र सहायक ब्यबस्थापकमा नरेश केसी रहेका छन |
यता युएई भ्रमणमा जान लागेको नेपाली टोलीलाई राष्टिय खेलकुद परिषद ( राखेप ) मा एक कार्यक्रम गरी परिषदका निमित्त सदस्य सचिव राजेश गुरुङले खेलाडीहरुलाई बिदाई गरेका थिए |
टोली आज राती युएई प्रस्थान गर्ने कार्यक्रम रहेको एकेडेमीका अध्यक्ष तथा टोलीका प्रशिक्षक सुदिप शर्माले अनलाइन खेलखबरलाई जानकारी गराए |
यस्तै भविष्यमा यस एकेडेमीले विभिन्न अन्तराष्टिय एकेडेमीहरु बिचको क्रिकेट प्रतियोगिता नेपालमा आयोजना गर्न एकेडेमीले तयारी गरिरहेको कार्यक्रमका क्रममा जानकारी गराईएको थियो |