onlinekhelkhabar.com

Complete website for Nepali Sports News

विश्वकप फाइनलमा न्युजिल्याण्डले दियो ईङल्याण्डलाई सम्मानजनक चुनौती

असार २९ , अनलाईन खेलखबर ।। हेनरी निकोल्स र टोम लाथमको राम्रो ब्याटिङको मद्दतमा अहिले जारी आईसीसी विश्वकपको फाइनल खेलमा न्युजिल्याण्डले घरेलु टोली ईङ्गल्याण्डलाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।

लण्डनस्थित लर्डस क्रीकेट मैदानमा जारी फाइनलमा टस जितेर न्युजिल्याण्डले पहिले ब्याटिङ गर्ने निर्णय गर्दै निर्धारित ५० ओभर पुरै खेल्दै ८ विकेटको क्षतिमा २ सय ४१ रन बनाएको छ ।

ईङ्गल्याण्डको अनुशासित बलिङ् सामू न्युजिल्याण्डका ब्याट्सम्यानलाई खुलेर खेल्न गाह्रो भएको अनुभूति गरिएको थियो ।

ईनिङको ६.२ ओभरमा पहिलो विकेटका रुपमा ओपनर ब्याट्सम्यान मार्टिन गप्टिललाई १९ रनमा गुमाएको भएपनि दोस्रो विकेटका लागि न्युजिल्याण्डले राम्रो साझेदारी पाएको थियो ।

क्रिस वोक्सको बलमा एल्बीडब्लुको सिकार भएका मार्टिन गप्टिलले २ चौका र १ छक्काको मद्दतमा उक्त रन बनाएका थिए । यसपछि हेनरी निकोल्स र कप्तान केन विलियमसनले पारीलाई उकास्न महत्वपुर्ण भूमिका निर्बाह गरे ।

यी दुई खेलाडीबीच ७४ रनको साझेदारी हुँन पुगेको थियो । ६.२ ओभर देखि सुरु भएको यो जोडीको अन्त्य २२.४ ओभरमा
लियाम प्लंकेटको बलबाट हुँन पुगेको थियो । दोस्रो विकेटका रुपमा कप्तान केन विलियमसन ३० रन बनाएर पभेलियन फर्किएका थिए ।

यसपछि थप १६ रन जोड्दा टिमले अर्धशतकिय पारी खेलिसकेका हेनरी निकोल्सलाई ५५ रनमा गुमायो । लियाम प्लंकेटले लगातार दोस्रो विकेट हात पार्ने क्रममा उनकै बलमा हेनरी निकोल्स सिकार हुँन पुगे । ५५ रन बनाएर टिमलाई राम्रो योगदान गरेका उनले ४ चौका समेत प्रहार गरे ।

३ विकेट पतन पछि न्युजिल्याण्डका रोस टेलरले १५ रन , जेम्स नीशमले १९ रन र कोलिन डी ग्रैंडहोमले १६ रनको योगदान गरे ।

यस्तै ईनिङको अत्यमा टोम लाथमले राम्रो ब्याटिङ गर्दै टिमलाई सम्मानजनक स्कोरतर्फ लगे । ५६ बलमा उनले २ चौका र १ छ्क्काको मद्दतमा ४७ रनको योगदान गरे ।

बलिङतर्फ ईङल्याण्डका लियाम प्लंकेट र क्रिस वोक्सले सर्बाधिक ३/३ विकेट हात पारे । आफ्नो स्पेलको १० ओभर पुरै बलिङ गरेका प्लंकेटले ४२ रन खर्चिएर उक्त विकेट हात पारे । भने क्रिस वोक्सले ३७ रन खर्चिए ।

यस्तै मार्क वुड र जोर्फा आचरले समान १/१ विकेट चट्काए ।

अब न्युजिल्यान्डले दिएको २ सय ४२ रनको विजयी चुनौतीलाई पछ्याउँदै ईङल्याण्डले जवाफी ब्याटिङ गर्नेछ ।

यो ईङल्याण्डको विश्वकप फाइनल प्रबेश चौथो पटक हो । यसअघि ईङल्याण्ड सन १९७९ , १९८७ र १९९२ मा फाइनल पुगेको थियो । तर फाइनल पुग्न ईङल्याण्डलाई २७ बर्ष कुर्नु पर्यो ।

भने न्युजिल्यान्ड अघिल्लो संस्करणमा पनि फाइनल पुगेको थियो । त्यसबेला पहिलो पटक फाइनल खेलेको न्युजिल्यान्ड अष्ट्रेलिया सँग निराश हुन पुगेको थियो ।

दुबै टिमलाई नयाँ ईतिहास बनाउँने सुनौलो अबसर रहेको छ । तर जसले खेल जिते पनि विश्व क्रीकेटले नयाँ विश्व विजेता पाउने छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *