एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट : फाइनलमा नेपाल र हङकङ भिड्ने
असार २३ , अनलाईन खेलखबर ||मलेसियामा जारी एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनल खेल नेपाल र हङकङ बिच हुने भएको छ ।
आज सोमबार भएको सेमिफाइनल खेलमा नेपालले आयोजक मलेसियालाई ७ विकेटले पराजित गर्दै फाइनल प्रबेश गर्दा दोस्रो सेमिफाइनलमा हङकङले बर्षाले प्रभावित खेलमा डिएल मेथड अनुसार सिगापुरलाई ५१ रनले पराजित गरेसँगै नेपाल र हङकङबिच फाइनल पक्का भएको हो ।
समूह “बि” मा रहेको हङकङ समुहको विजेता बन्दै सेमिफाइनल पुगेको थियो भने नेपाल समूह “ए” को विजेता बन्दै सेमिफाइनल यात्रा तय गरेको थियो । दुबै टिम अपराजित रहेका छ्न ।
अब प्रतियोगिताको फाइनल खेल भोलि मंगलबार किनारारा ओभल क्रिकेट मैदानमा हुने छ ।
प्रतियोगिताको एक मात्र दाबेदार नेपालले समुह चरणको पहिलो खेलमा चीनलाई १० विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा सिगापुरलाई २ सय १७ रनले निराश बनाएको थियो ।
कुल ७ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले आगामी अगष्ट २८ देखी सेप्टेबर ८ तारिख सम्म श्रीलंकामा हुने यु-१९ एसीया कपमा छनोट हुनेछ ।