नेपाली बलरसामु मलेसिया निरिह : झिनो विजयी लक्ष्य प्रस्तुत
असार २३ , अनलाईन खेलखबर ।। मलेसियामा जारी एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत सेमिफाइनल खेलमा नेपालले आयोजक मलेसियाको सामना गरिरहेको अबस्था छ ।
किनरारा ओभल क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर सुरुमा घरेलु टोली मलेसियालाई ब्याटिङको निम्तो दिएको थियो । जसअनुसार निकै खराब ब्याटिङ् गर्ने क्रममा मलेसिया ४०.५ ओभरमा आफ्नो सबै विकेट गुमाएर ८७ रनमा सिमित हुँन पुगेको छ ।
नेपाली बलरसामु खुलेर कुनै खेलाडी खेल्न सकेनन र त्यसको परिमाण देखिएको छ । मलेसियाका मोहम्मद अमिरले सर्बाधिक २४ रनको पारी खेले । ३२ बलको सामना गरेका उनले ३ चौकाको मद्दतमा उक्त रन बनाएका हुँन । यस्तै टिमका लागि हैइकल खैरले १२ तथा वान अमिरुलले ११ रन बनाएका थिए ।
मलेसियाको ब्याटिंङ् ध्वस्त पार्ने क्रममा बलिङ्तर्फ नेपालका सागर ढकालले ३ तथा कुशल मल्लले २ विकेट हात पारे भने कमल सिह एरी , तिलक राज भण्डारी र राशिद खानले समान १/१ विकेट हात पारे ।
अब मलेसियाले प्रस्तुत गरेको ८८ रनको झिनो विजयी चुनौती पछ्याउदै नेपालले अबको केहिसमय पछि जवाफी ब्याटिङ् गर्ने छ ।
समुह ‘ ए ‘ बाट नेपाल समुह विजेता र सिगापुर उप -विजेता बन्दै सेमिफाइनल प्रवेश गर्दा समुह ‘बी ” बाट हंगकंग समुह विजेता र मलेसिया समुहको उप -विजेता बन्दै सेमिफ़ाइनल प्रवेश गरेको थियो । अर्को सेमिफाइनल खेलपनि जारी रहेको अबस्था छ ।
प्रतियोगिताको एक मात्र दाबेदार नेपालले पहिलो खेलमा चीनलाई १० विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा सिगापुरलाई २ सय १७ रनले निराश बनाएको छ ।
कुल ७ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले आगामी अगष्ट २८ देखी सेप्टेबर ८ तारिख सम्म श्रीलंकामा हुने यु-१९ एसीया कपमा छनोट हुनेछ ।