पहिलो एसिया कपको उपाधि पाकिस्तानलाई
जेठ ४ , अनलाईन खेलखबर ।। नेपाल व्हिल चियर क्रिकेट संघको आयोजनामा पहिलो पटक काठमाण्डौमा भएको एसिया कप व्हिल चियर टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि पाकिस्तानले उचालेको छ ।
आज सनिवार त्रिवि अन्तराष्टिय क्रिकेट मैदानमा भएको फाईनल खेलमा भारतलाई ५ विकेटले पराजित गर्दै पाकिस्तान प्रतियोगिताको च्याम्पियन बनेको हो ।
खेलमा सुरुमा टस जितेर पहिले ब्याटिंङ्ग गरेको भारतले शौरभ मलिकको सतकीय १ सय ४ रनको मद्दतमा निर्धारित २० ओवर पुरै खेल्दै मात्र २ विकेटको क्षतिमा २ सय १० रनको बिशाल योगफल खडा गरेको थियो । अविजित रहेका सौरभले ६२ बलको सामना गर्दै १९ चौका र १ छक्काको मद्दतमा उक्त पारि खेलेपछि टिम त्यो योगफल सम्म पुगेको थियो ।
उनि बाहेक टिमका लागि निकुल प्रजापतिले पनि अर्धसतकिय ६३ रनको योगदान गरेका थिए । ३३ बलको सामना गरेका उनले १२ चौका प्रहार गरेका थिए ।
यस्तै टिमका लागि बिश्वनाथ गौरभले २३ रनको योगदान गरेका थिए ।
बलिङ्ग तर्फ पाकिस्तानका लागि सैयद असलान अहमद र एदनान निशारले समान १/१ विकेट हात पारेका थिए ।
यसपछि भारतले प्रस्तुत गरेको २ सय ११ रनको बिशाल लक्ष्य पछ्याउदै जवाफी ब्याटिंङ्ग गरेको पाकिस्तानले पनि शानदार ब्याटिंङ्ग गर्दै ३ बल बाकि रहदा ५ विकेट गुमाएर उक्त बिजयी लक्ष्य भेटायो ।
पाकिस्तानलाई च्याम्पियन बनाउन मोहम्मद लतिफ़ले ठुलो भूमिका निर्भाह गरे । अविजित रहेका उनले ६८ बलको सामना गर्दै २७ चौका र ५ छक्काको मद्दतमा १ सय ५६ रनको योगदान गरेपछि टिमले ठुलो लक्ष्य पछ्याएको भएपनि त्यो पुरा गर्न सफल भयो ।
यस्तै पाकिस्तानका लागि मोहम्मद फिराज र सैयद असलान अहमदले समान १५/१५ रन जोडेका थिए ।
बलिङ्गमा भारतका सौरभ मलिकले २ तथा प्रशुराम देशले र बिश्वनाथ गौरबले समान १/१ विकेट लिएका थिए ।
उपाधि उचालेको पाकिस्तानले ६० हजार नगद र ट्रफी प्राप्त गर्न सफल भयो । यस्तै उपविजेतामा चित्त बुझाएको भारतले ३० हजार र ट्रफी प्राप्त गर्यो ।
यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी पाकिस्तानका मोहमद लतिफ घोषित भए । उनले नगद ५ हजार प्राप्त गरे भने उत्कृष्ट ब्याट्सम्यान पाकिस्तानकै मोहमद लतिफ र उत्कृष्ट बलर भारतका सौरभ मलिक घोषित भए । दुवैले समान ३ हजार ५ सयसहित ट्रफी प्राप्त गरे भने उत्कृष्ट फिल्डर भारतका लक्ष्मण बिर्हाडे घोषित भए उनले ३ हजार प्राप्त गर्न सफल भए ।
प्रतियोगितामा आयोजक नेपालसहित भारत , पाकिस्तान र बंगलादेशले प्रतिस्पर्धा गरेका थिए । लिग चरणमा भारत शीर्ष र पाकिस्तान दोस्रो हुँदै फाइनल पुगेका थिए । भने नेपाल सबै खेलमा पराजित हुन् पुगेको थियो ।