एसीसी यू-१६ इस्टर्न रिजनमा नेपालको सुखद सुरुवात : म्यानमारमाथि नेपालको सहज जीत
बैशाख ७ , अनलाईन खेलखबर ।। आज देखि थाईल्याण्डमा सुरु भएको एसीसी यू-१६ इस्टर्न रिजन प्रतियोगिताको आफ्नो पहिलो खेलमा डिफेन्डिङ च्याम्पीयन नेपालले म्यानमारलाई ७ विकेटले पराजित गरेको छ ।
खेलमा म्यानमारले दिएको ५९ रनको निकै झिनो बिजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिंङ्ग गरेको नेपालले उक्त बिजयी लक्ष्य ८.१ ओवरमा मात्र ३ विकेटको क्षतिमा भेटायो ।
नेपालले झिनो लक्ष्य पछ्याउदै जवाफी ब्याटिंग गरेको भएपनि सुरुवाती सन्तोषजनक भने हुन् सकेन । पहिलो विकेटका रुपमा पहिलो ओवरमा टिमको स्कोर ६ रन हुदाँ ओपनर ब्याट्सम्यान दिपक बोहरालाई व्यक्तिगत ६ रनमै गुमायो । यसपछि नेपालले २.१ ओवरमा अर्को विकेट गुमायो । दोस्रो विकेटका लागि सुबास एयर ७ रन बनाएर आउट हुन् पुगे ।
यसपछि टिमले कप्तान बिशाल बिक्रम केसीलाई तेस्रो विकेटका रुपमा सस्तैमा गुमायो । उनि ६ रन बनाएर पभेलियन फर्किए । नेपालको जितमा सर्बाधिक धेरै रन अर्जुन कुमालले बनाए अविजित रहेका उनले १५ बलको सामना गर्दै ४ चौकाको मद्दतमा २६ रनको महत्वपुर्ण योगदान गरे । यस्तै प्रशान्त महतले पनि अविजित रहदै १५ रन जोडे ।
बलिङ्ग तर्फ म्यानमारका लागि कौंग हट्ट क्यॉले २ विकेट लिए भने जिन मोए को को ले १ विकेट लिएका थिए ।
यसअघि खेलमा टस जितेर म्यानमारले पहिले ब्याटिङ्ग गर्नेक्रममा १३.२ ओवरमा अलआउट हुदै ५८ मात्र रनमा सिमित भएको थियो । नेपालको कसिलो बलिङ्गमा म्यानमारको ब्याटिङ्ग पुरै ध्वस्त हुन् पुग्यो । नेपालको कसिलो बलिङ्गमा कौंग हट्ट क्यॉ र क्रिस्टोफर बाहेक अन्य खेलाडीले खुलेर खेल्नै सकेनन । जसको प्रतिफल नेपालले निकै झिनो बिजयी लक्ष्य पाएको थियो । कौंग हट्ट क्यॉले ईनिङ्गको सर्बाधिक धेरै रन बनाउने क्रममा १७ बलको सामना गर्दै ३ चौकाको मद्दतमा १९ रन बनाएका थिए । उनि अर्जुन कुमालको बलमा रन आउट हुन् पुगे । यस्तै क्रिस्टोफरले ११ रन बनाए ।
बलिङ्गमा नेपालका लागि टिमका कप्तान बिशाल बिक्रम केसीले ५ ओवर बलिङ्ग गर्दै २१ रन खर्चिएर सर्बाधिक ४ विकेट लिए । म्यानमारका ४ खेलाडि रन आउट भएको खेलमा रमेश कुर्मी र निखिल कुमार सिहले पनि १/१ विकेट नेपालका लागि लिएका थिए ।
उपाधि लगातार दोस्रो पटक उचाल्ने लक्ष्य सहित थाईल्याण्ड पुगेको नेपाली अन्डर सिक्टिन टिम यसपटकको पनि प्रमुख दाबेदार र बलियो टिम हो । त्यसको संङ्गकेत् नेपालले देखाउन सुरुवात गरिसकेको छ ।
कुल ८ टिमको सहभागिता रहने यो प्रतियोगितामा प्रतियोगिता लाई दुई समूहमा बिभाजन गरिएको छ । समूह ‘ए’ मा रहेको नेपालसँगै आयोजक थाईल्याण्ड , मलेसिया र म्यानमार रहेको छ । भने समूह ‘बी’ मा सिंगापुर, हङकङ,भुटान र चिन रहेका छन् ।
नेपालले अब यो पछि आफ्नो दोस्रो खेलमा २४ तारिखमा मलेसियाको सामना गर्नेछ भने समूह चरणको अन्तिम खेलमा आयोजक थाईल्यान्डसँग २५ तारिखमा प्रतिष्पर्दा गर्नेछ ।
समूह चरणबाट पहिलो र दोश्रो स्थान हासिल गर्ने टोली प्रतियोगिताको सेमीफाइनलमा पुग्नेछन । सेमीफाइनल खेल २७ तारिखमा हुनेछ भने फाइनल खेल २८ तारिखमा हुनेछ ।
नेपालले यसअघि सन् २०१७ मा मलेसियामा भएको प्रतियोगितामा सिंगापुरलाई पराजित गर्दै उपाधि उचालेको थियो ।