नेपाललाई ऐतिहासिक सफलता : नेपाल एसिया कपमा छ्नोट
बैशाख १९ (अनलाइन खेल खबर ) । काठमाडौंमा भएको एसिसी प्रिमियर लिगको फाइनलमा युएईलाई ७ विकेटले पराजित गर्दै नेपाल एसिया कपको लागि छ्नोट भएको छ । यो सँगै आगामी एसिया कपमा नेपालले विश्व क्रिकेटका पावर हाउस भारत र पाकिस्तानसँग खेल्ने सुवर्ण अवसर प्राप्त गरेको छ ।
ऐतिहासिक जित हासिल गर्ने क्रममा नेपालले युएईले प्रस्तुत गरेको १ सय १८ रनको सामान्य लक्ष्यलाई ३०.३ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।
झिनो लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको नेपालको सुरुवात भने सन्तोषजनक रहेन । ओपनर कुशल मल्ल दोस्रो ओभरको दोस्रो बलमा १ रन बनाएको अवस्थामा आउट हुन् पुग्दा अर्का ओपनर आशिफ शेख पनि सस्तैमा आउट हुन् पुगे । अफजल खानको बलमा एलबिड्ब्लुको सिकार हुन् पुगेका आशिफले मात्र ८ रन जोडे । त्यसपछि टिमले कप्तान रोहित पौडेललाई पनि १ रनमा गुमाउँदा टिम ७.६ ओभरमा मात्र २२ रनको स्थितिमा रहेको थियो ।
त्यसपछि असहज स्थितिमा रहेको नेपालको पारीलाई गुलशन झा र भिम शार्कीले उत्कृष्ट साझेदारी गर्दै अगाडि बढाए । ऐतिहासिक दिनका नायक बनेका गुलशनले अर्धशतकिय पारी खेल्ने क्रममा ६७ रनको योगदान गरे भने भिम पनि ३६ रनमा अविजित रहे ।
बलिङमा युएईका रोहन मुस्तफाले २ तथा आयन अफजल खानले १ विकेट हात पारे ।
त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएई ३३.१ ओभरमा आफ्नो सबै विकेट गुमाएर १ सय १७ रन बनाएको थियो । अघिल्लो दिन सोमबार वर्षाले खेल प्रभावित गरेपछि सोही स्थितीबाट आज मंगलबार खेल सुरु भएको थियो । पहिलो दिन युएईले २७.३ ओभरमा आफ्नो ९ विकेट गुमाएर १ सय ६ रन बनाएको थियो ।
युएईले सामान्य लक्ष्य प्रस्तुत गर्ने क्रममा उसका लागि आसिफ खानले बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान गर्न सकेनन् । सर्वाधिक रन कर्ता बनेका आसिफ खानले ५४ बलमा ७ चौका र १ छ्क्कासहित ४६ रन जोडेका थिए । यी बाहेक युएईका ओपनरद्वय मुहम्मद वसीम र आर्यन लकडाले क्रमशः ११ र १३ रन बनाउँदा बसिल हमद र जहूर सिद्दिकीले समान १०-१० रन थपेका थिए ।
युएईको ब्याटिङ ध्वस्त पार्ने क्रममा नेपालका ललित राजबम्शीले सर्वाधिक ४ तथा करण केसी , सन्दीप लामिछानेले २-२ विकेट लिँदा सोमपाल कामी र गुलशन झाले पनि १-१ विकेट हात पारेका थिए ।