
नेपाल फाइनलमा
बैशाख १६ (अनलाइन खेल खबर ) । नेपाल काठमाडौंमा जारी एसिसी प्रिमियर लिगको फाइनल प्रवेश गरेको छ । शनिबार भएको सेमिफाइनल खेल वर्षाले प्रभावित गरेसँगै नेपालले कुबेतलाई पछि पार्दै प्रतियोगिताको फाइनल पुगेको हो ।
नेपालले प्रस्तुत गरेको २ सय ८१ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गर्ने क्रममा कुबेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाएको अवस्थामा खेल वर्षाको कारण रोकिएको थियो । मैदानमा भारी वर्षा हुन् पुग्दा सुपर ओभर पनि हुन सकेन र खेल नतिजा विहीन बनेपछि नेपाल समूह विजेताको हैसियतले फाइनलमा पुगेको हो । नेपाल समूह ए को विजेता र कुवेत समूह बी को उपविजेताको रुपमा सेमिफाइनल खेलेका थिए ।
ब्याटिङतर्फ कुवेतका मोहम्मद अस्लमले १४ रन , रविजा सनदरुवानले ९ रन , मित भावसारले ५ रन , परविन्दर कुमारले १ रन बनाउँदा ओपनर आदनान इद्रिस शुन्यमा आउट हुन् पुगेका थिए ।
कुबेतलाई सुरुवात देखीनै दबाबमा राख्ने क्रममा करण केसी ४.३ ओभरमा १० रन खर्चेर ५ विकेट लिए भने सोमपाल कामीले २ ओभरमा १५ रन खर्चेर १ विकेट लिएका थिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली नेपालले निर्धारित ४२ ओभरमा ९ विकेट गुमाएर २ सय ८१ रन बनाएको थियो । वर्षाको कारण खेल ८ ओभर घटाइएको थियो । डकवर्थ लेविस पद्धतिको आधारमा १ रन लक्ष्यमा घट्न समेत पुगेको हो ।
नेपालले विशाल योगफल खडा गर्ने क्रममा नेपालका कप्तान रोहित पौडेलले कप्तानी पारी खेले । मात्र ६ ले शतक प्रहार गर्न बाट चुकेका रोहितले ९४ रन बनाउँने क्रममा ९५ बलको सामना गर्दै ७ चौका र ३ छ्क्का प्रहार गरे ।
नेपालले सुरुवात पनि सानदार गरेको थियो । १०.५ ओभरमा टिमको स्कोर ७७ रन हुँदा ओपनर कुशल भुर्तेल ब्यक्तिगत ४३ रन बनाएर पभेलियन फर्किएका थिए । अदनान ईदृसको बलमा यासिन पटेलको हातबाट क्याच आउट हुनु अघि उनले ३९ बलको सामना गर्दै ७ चौका र १ छ्क्का समेत प्रहार गरे ।
भुर्तेल पछि मैदान प्रवेश गरेका भिम सार्की भने जम्न सकेनन् । उनि मात्र १ रन बनाउँदा क्याच आउट हुन् पुगे । त्यसपछि अर्का ओपनर आशिफ शेख पनि तेस्रो विकेटका रुपमा ३१ रन बनाएर आउट हुन् पुगे ।
१२.२ ओभरमा टिमको स्कोर ८० रन हुँदा तीन विकेट गुमाएको नेपालले चौथो विकेटका लागि राम्रो साझेदारी पायो । कप्तान रोहित र कुशल मल्लले १ सय ९ रनको साझेदारी गरे । २८.३ ओभरमा टिमको स्कोर १ सय ८९ रन हुँदा कुशल ब्यक्तिगत ५७ रन बनाउँदै पभेलियन फर्किए । अर्धशतकीय पारी खेल्ने क्रममा कुशलले ४४ बलमा ४ चौका र ४ छ्क्का प्रहार गरे ।
यसपछि नेपालका लागि आरिफ शेखले १९ रन , सन्दीप लामिछानेले ५ रन , करण केसीले ७ रन थप्दा अबिजित रहेका सोमपाल कामी र ललित राजबम्शीले क्रमशः १३ र २ रन बनाएका थिए ।
बलिङमा कुबेतका मोहम्मद अस्लम र अदनान ईदृसले ३-३ विकेट हात पार्दा सायव मोनिव र यासिन पटेलले पनि १-१ विकेट लिन सफल भएका थिए ।
अब नेपालले फाइनलमा युएईको सामना गर्नेछ । सोमबार कीर्तिपुरमा हुने फाइनल खेलको विजेता एसिया कपको लागि छनोट हुनेछ ।