एलपीएलको उपाधि लोटस आईलाई
फागुन ०६ (अनलाइन खेल खबर ) । कैलालीको धनगढीमा भएको सातौँ संस्करणको विद्यालय स्तरीय अन्डर–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) को उपाधि अत्तरियाको लोटस आई इङ्लिस स्कुलले उचालेको छ ।
शनिबार फाप्ला क्रिकेट मैदानमा भएको फाइनल खेलमा लोटसले डिफेन्डिङ च्याम्पियन समेत रहेको अत्तरियाकै सत्यवती एकेडेमी लाई ७ विकेटले पराजित गरेको थियो । सत्यवती एकेडेमीले दिएको ९२ रनको सामान्य लक्ष्य लोटस आईले ११.३ ओभरमा मात्र ३ विकेट गुमाएर भेटाएको थियो ।
लोटस आईका लागि ब्याटिङतर्फ लक्की कडायतले सर्वाधिक ४१ रन बनाए । जुन क्रममा अविजित रहँदै ३२ बलमा ७ चौका प्रहार गरे । यस्तै आयुब चन्दले २८ तथा वीरेन्द्र नाथले १४ रन बनाए ।
बलिङतर्फ सत्यवतीका बलर गौतम केसी र प्रतिक श्रेष्ठले १/१ विकेट लिए।
यस अघि टस जितेर ब्याटिङ गरेको सत्यवती एकेडेमीले १९.१ ओभरमा सबै विकेट गुमाएर ९१ रन बनाएको थियो । उसका लागि ओपनर इमरान शेखले सर्वाधिक २७ रन , कप्तान सुजन गौतमले १७ तथा सोनु अन्सारीले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
बलिङतर्फ लोटस आईको बलिङमा नरेन साउद र प्रेम शाहले ४/४ विकेट तथाहिक्मत महरा र सुवास रावलले पनि १/१ विकेट लिएका थिए ।
उपाधिसँगै लोटस आई स्कुलले नगद २ लाख ५१ हजार १ सय ११ रुपैयाँ तथा विजेता ट्रफी प्राप्त गर्यो । यस्तै उपविजेता बनेको सत्यवतीले १ लाख २५ हजार ५ सय २५ रुपैयाँ प्राप्त गर्यो ।