onlinekhelkhabar.com

Complete website for Nepali Sports News

श्रीलंका छटौं पटक एसिया कपको च्याम्पियन

एजेन्सी । युएईमा भएको एसिया कप टि- ट्वान्टी क्रिकेटप्रतियोगिताको उपाधि श्रीलंकाले उचालेको छ । आईतबार राती भएको प्रतियोगिताको फाइनल खेलमा पाकिस्तानलाई २३ रनले पराजित गर्दै श्रीलंका च्याम्पियन बनेको छ । यो सँगै श्रीलंकाले उपाधिको खडेरीलाई पनि तोडेको छ । लामो समयपछि उपाधि उचालेको श्रीलंका एसिया कपको छटौं पटक च्याम्पियन बनेको हो ।

श्रीलंकाले पहिलो पटक सन् १९८६ मा पाकिस्तानलाई नै हराउँदै उपाधि जितेको थियो । त्यसपछि १९९७ , २००४ र २००८ को संस्करणमा भारतलाई र पछिल्लो पटक २०१४ को एसिया कपमा पाकिस्तानलाई नै ५ विकेटले हराउँदै श्रीलंकाले उपाधि उचालेको थियो ।

पाकिस्तानको भने तेस्रो पटक च्याम्पियन बन्न सपना अधुरोनै रहयो । पाकिस्तानले पहिलो पटक सन २००० मा श्रीलंकालाई नै पराजित गर्दै उपाधि आफ्नो नाममा लेखाएको थियो । त्यसपछि सन् २०१२ मा भएको संस्करणमा पनि पाकिस्तान च्याम्पियन बनेको थियो । फाइनलमा पाकिस्तानले बंगलादेशलाई २ रनले पराजित गरेको थियो ।

यता खेलमा श्रीलंकाले प्रस्तुत गरेको १ सय ७१ रनको विजयी लक्ष्यलाई पछ्याउँदै जवाफी ब्याटिङ थालेको पाकिस्तान निर्धारित २० ओभर पूरै खेल्दै सबै विकेट गुमाएर १ सय ४७ रनमा सिमित हुन् पुगेपछि श्रीलंकालाई च्याम्पियन बन्न प्रयाप्त बन्यो ।

पाकिस्तानका लागि ओपनर तथा विकेट किपर ब्याट्सम्यान मोहम्मद रिजवानले सर्वाधिक रन बनाए । पाँचौ विकेटका रुपमा पभेलियन फर्किएका रिजवानले ४९ बलको सामना गर्दै ४ चौका र १ छ्क्काको मद्धतमा ५५ रन बनाए ।यस्तै मध्य क्रममा ब्याट्सम्यान ईख्तिखर अहमदले ३२ रन बनाउनु बाहेक अन्य खेलाडीले उल्लेख्य योगदान गर्न नसक्दा पाकिस्तान पराजित हुन् पुग्यो ।

पाकिस्तानको ब्याटिङलाई ध्वस्त पार्ने क्रममा श्रीलंकाका प्रमोद मदुशनले सर्वाधिक ४ विकेट लिए । यस्तै वनिन्दु हसरंगाले ३ तथा महेश थीक्षाना र चामिकाले १-१ विकेट लिएका थिए ।

त्यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७० रन बनाएको थियो ।

टिमले बलियो योगफल खडा गर्ने क्रममा उसका लागि
भानुका राजपक्षेले उत्कृष्ट पारी खेले ।अविजित रहेका उनले ४५ बलमा ६ चौका र ३ छ्क्कासहित ७१ रन बनाएका थिए । यस्तै धनंजय डी सिल्वाले २८ तथा वनिन्दु हसरंगाले ३६ रन थपेका थिए ।

बलिङमा पाकिस्तानका हरिस रौउफले ३ तथा नसिम शाह , शादव खान र ईफ्तिखार अहमदले १-१ विकेट लिएका थिए ।

LEAVE A RESPONSE

Your email address will not be published.