पोखरा विश्वविद्यालय महिला लिग हुने
जेठ २०(अनलाइन खेल खबर ) । पोखरा विश्वविद्यालय क्रिकेट क्लबको आयोजनामा महिला पोखरा विश्वविद्यालय क्रिकेट लिग (डब्लुपियुसियल) को दोस्रो संस्करण हुने भएको छ ।
पोखरा विश्वविद्यालयको केन्द्रीय क्याम्पसका छात्राहरुलाई क्रिकेटप्रति प्रेरित गर्न र पढाइ सँगसँगै अतिरिक्त क्रियाकलापलाई अगाडि बढाउन र विश्वविद्यालयमा पनि महिला क्रिकेटलाई उजागर गर्न यस प्रतियोगिता आयोजनाको मुख्य उदेश्य रहेको आयोजकको धारणा रहेको छ ।
जस अन्तर्गत पोखरा विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा रहेका विभिन्न संकायमा अध्यनरत छात्राहरुले यस प्रतियोगितामा सहभागिता हुन सक्नेछन् ।
खेल तालिका , टिम संख्या र खेल हुने मिति छिटै नै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारीमा रहेको प्रतियोगिता निर्देशक अभिषेक यादवले जानकारी गराए ।
महिला पोखरा विश्वविद्यालय क्रिकेट लिग (डब्लुपियुसियल)को पहिलो संस्करणको उपाधि पियु राइनोजले उचालेको थियो ।