ईपीएलको फाइनल आज : विजेताले नगद ५० लाख पाउँने

ईपीएलको फाइनल आज : विजेताले नगद ५० लाख पाउँने

काठमाडौं (अनलाइन खेल खबर ) । काठमाडौंमा जारी चौथों संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) को फाइनल खेल आज शनिबार हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो सवा १२ बजेपछि सुरु हुने फाइनल खेलमा सोमपाल कामीको नेतृत्वमा रहेको चितवन टाईगर्सले विनोद भण्डारीको पोखरा राईनोजको सामना गर्नेछ ।

यी दुई टोली पहिलो पटक फाइनल खेल्दैछन् । तुलनात्मक रुपमा पोखरा भन्दा चितवन बलियो देखिएपनि दोस्रो क्वालिफायरमा बलियो मानिएको भैरहवामाथि जित आत्मसाथ गर्दै फाइनल पुगेको पोखराको मनोबल पनि उच्च रहेको छ ।

तर चितवनसँगको भेटमा भने पोखरा दुई खेलमै पराजित हुन् पुगेको थियो । लिग चरणमा भेट हुँदा ९ विकेटले पराजित भएको पोखरा पहिलो क्वालिफायरमा लज्जास्पद हार ब्यहोर्ने क्रममा ९ विकेटले नै पराजित हुन् पुगेको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको पोखरा ६६ रनमा अलआउट हुन् पुग्दा उक्त चुनौतीलाई चितवनले ७.५ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गरेको थियो । यता चितवन भने अपराजित रहदै फाइनल पुगेको हो ।

यता टोलीका कप्तानद्वय विनोद र सोमपाल उपाधि उचाल्नेमा विश्वस्त देखिएका छन् । फाइनल अघि शुक्रबार संचारकर्मीसँग कुरा गर्ने क्रममा उनिहरुले यस्तो धारणा राखेका थिए ।

‘विगत भनेको विगत हो । अब फाइनल छ । फाइनल भन्दा पनि मेरो लागि एउटा खेल हो । ‘प्रमाणित गर्ने एउटा अवसर छ । मलाई आत्मविश्वास छ ।’सोमपालले भने यता विनोद पनि फाइनलमा राम्रो खेल्दै उपाधि जित्ने बताउँछन् ।

‘फाइनल हो,लिगको बारेमा सोचेर बस्न मिल्दैन । फाइनलमा जुन टिमले राम्रो खेल्छ सोही टिमले जित्ने हो । फाइनल पुगेको दुबै टिम राम्रो हो । अर्को टिम नराम्रो हाम्रो टिम राम्रो भन्न मिल्दैन । त्यसैले आजको दिनमा जसले राम्रो क्रिकेट खेल्छ उसैले जित्छ ।’

कुल ६ फेन्चाइज टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेता टोलीले नगद ५० लाख प्राप्त गर्दा उप – विजेताले १५ लाख प्राप्त गर्नेछ ।