onlinekhelkhabar.com

Complete website for Nepali Sports News

ओमानमाथि नेपालको सानदार जित

काठमाडौं (अनलाइन खेल खबर ) । विश्वकप लिग -२ अन्तर्गत ओमानमाथि नेपालले सानदार जित हासिल गरेको छ ।

घरेलु टोली ओमानमाथि सानदार जित निकाल्ने क्रममा आईतबार नेपालले ओमानलाई ७ विकेटले पराजित गर्यो ।

खेलमा ओमानले प्रस्तुत गरेको १ सय २२ रनको सामान्य लक्ष्यलाई नेपालले १८.२ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।

टिमको सहज जितमा कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारी खेले । अविजित रहेका उनले ४६ बलमा ४ चौका र २ छ्क्कासहित ५२ रन बनाए । यस्तै मल्ललाई साथ दिएका ओपनर ब्याट्सम्यान मोहम्मद आशिफ शेखले ४४ बलमा ७ चौकाको मद्धतमा ४० रनको योगदान गरे ।

यी बाहेक कुशल भुर्तेल र रोहित पौडेलले समान ६ रन बनाउँदा शरद भेषावकर १ रन अविजित रहे ।

बलिङमा ओमानका नेसटोर धम्बाले २ र कलिमुल्लाले १ विकेट लिए ।

त्यसअघि ओमानस्थित अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमान ३७.१ ओभरमा अलआउट हुँदै १ सय २१ रनमा सिमित हुन् पुगेको थियो ।

नेपाली बलरसामू निरिह सावित हुने क्रममा ओमानका मध्य क्रममा ब्याट्सम्यान जिशान मक्सुदले ४१ रन बनाउनु बाहेक अन्यले निकै निराशाजनक प्रदर्शन गरे । ६६ बलको सामना गरेका मक्सुदले २ चौका र १ छ्क्काको सहयोगमा उक्त रन बनाएका थिए ।

यस्तै टिमका लागि ओपनर ब्याट्सम्यान जतिन्दर सिंहले १३ रन , नसिम खुशीले १२ रन र अविजित रहेका कलिमुल्लाले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक समेत जोड्न सकेनन् ।

बलिङमा नेपालका सन्दीप लामिछाने र करण केसीले उत्कृष्ट प्रदर्शन गरे । ओमानी ब्याटिङ ध्वस्त पार्ने क्रममा ८.१ ओभर बलिङ गरेका सन्दीपले मात्र १८ रन खर्चिएर ४ विकेट चट्काएका थिए । यस्तै ८ ओभर बलिङ गरेका करणले २५ रन खर्चिएर ४ विकेटनै लिएका थिए । बाँकी दुई विकेट शरद भेषावकरले लिए । ६ ओभर बलिङ गरेका शरदले १ ओभर मेडन राख्दै २१ रन खर्चिएर उक्त विकेट लिएका थिए ।

यो सँगै नेपालको ओमान भ्रमण पनि सकिएको छ । एकदिवसीय विश्वकप छ्नोट अन्तर्गत लिग-२ मातहतको यो भ्रमणमा नेपालले ओमान र अमेरिकासँग दुई – दुई खेल खेलेको थियो । जसमध्य पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गर्दा दोस्रो खेलमा ओमानसँग नेपाल ५ विकेटले पराजित हुन् पुगेको थियो । यस्तै तेस्रोमा नेपाल अमेरिकासँग ६ विकेटले पराजित भएको थियो ।

लिग-२ मा ८ खेल खेलेको नेपालले ४ खेलमा जित र ४ खेलमै हार ब्यहोर्दै अंकतालिकामा ८ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्