onlinekhelkhabar.com

Complete website for Nepali Sports News

सन्दीप र रोहितको उत्कृष्ट प्रदर्शनमा नेपालको कीर्तिमानी जित

काठमाडौं (अनलाइन खेल खबर) । लेग स्पिनर सन्दीप लामिछानेले करियरकै उत्कृष्ट प्रदर्शन गर्दा पपुवा न्युगिनीमाथि नेपालले कीर्तिमानी जित हासिल गरेको छ ।

दुई खेलको एकदिवसीय सिरिज अन्तर्गत शुक्रबार भएको दोस्रो तथा अन्तिम खेलमा नेपालले पपुवा न्युगिनीलाई १ सय ५१ रनले पराजित गरेको छ । १ सय ५१ रनको जित नेपालको अन्तर्राष्ट्रिय क्रिकेटकै सबैभन्दा ठूलो रन अन्तरको जित हो। यस अघि नेपालले सन् २०१९ मा युएईलाई १ सय ४५ रनको अन्तरले पराजित गरेको थियो ।

खेलमा नेपालले प्रस्तुत गरेको २ सय ३४ रनको ठूलो योगफल पछ्याएको पपुवा न्युगिनीले निकै खराब ब्याटिङ गर्ने क्रममा १९.१ ओभरमा आफ्नो सबै विकेट गुमाएर ८२ रनमा सिमित हुन् पुग्यो ।

उसका लागि ओपनर ब्याट्सम्यान टोनी उराले सर्वाधिक १९ रनको पारी खेल्दा चार्ल्स अमिनीले १६ रन,सेसे बाउले ११ रन , नर्मन भानुआले १२ रन र गौडी टोकाले १० रन जोडेका थिए ।

पपुवा न्युगिनीको ब्याटिङ धस्त पार्ने क्रममा नेपालका स्टार खेलाडी सन्दीपले उत्कृष्ट प्रदर्शन गरे । करियरकै राम्रो बलिङ गर्ने क्रममा उनले मात्र ५.१ ओभरमा ११ रन खर्चिएर ६ विकेट चट्काएका थिए । यी बाहेक नेपालका लागि सोमपाल कामी , विक्रम शोब र शुशन भारीले पनि १-१ विकेट लिए ।

त्यसअघि ओमानस्थित अल इमेरात क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.३ ओभरमा आफ्नो सबै विकेट गुमाएर २ सय ३३ रन बनाएको थियो ।

नेपालले ठूलो योगफल खडा गर्ने क्रममा नेपालको सुरुवात भने सन्तोषजनक रहेन । अघिल्लो खेलमा ओपनरले ठोस सुरुवात दिलाएको भएपनि यस खेलमा ओपनरद्वय कुशल भुर्तेल र मोहम्मद आशिफ शेख सस्तैमा आउट हुन् पुगे । जसमा कुशलले र आशिफले समान ३ रन बनाए ।

ओपनरलाई सस्तैमा पभेलियन फर्काएपछि पपुवा न्युगिनीका लागि तेस्रो विकेट निकाल्न निकै समय लिन पर्यो । त्यस क्रममा टिमका कप्तान ज्ञानेन्द्र मल्ल र युवा ब्याट्सम्यान रोहित कुमार पौडेलले उत्कृष्ट साझेदारी गरे ।

२४.१ ओभरमा टिमको स्कोर ९८ रन हुँदा तेस्रो विकेटका रुपमा आउट हुनुअघि मल्ल र रोहितबीच ८९ रनको साझेदारी हुन् पुगेको थियो । ७० बलको सामना गरेका मल्लले ३ चौका र २ छ्क्कासहित ४५ रन बनाए ।

मल्ल आउट भएपछि रोहितलाई साथ दिन मैदानमा विनोद भण्डारी आए । उनले १७ रन थप्दा कुशल मल्ल १ रन र सोमपाल कामीले ११ रन थप्दा करण केसीले राम्रो ब्याटिङ गर्ने क्रममा २६ बलमा २ चौका र ४ छ्क्कासहित ४२ रनको योगदान गरे ।

करणपछि बल्ल रोहित आउट हुन् पुगे । ४८.४ ओभरमा टिमको स्कोर २ सय ३२ रन हुँदा आठौं विकेटका रुपमा पभेलियन फर्किएका उनले १ सय २३ बलको सामना गर्दै २ चौका र ३ छ्क्कासहित ८६ रनको योगदान गरे । यसपछि नेपालले एक रन मात्र थप्दा अलआउट हुन् पुग्यो ।

बलिङमा पपुवा न्युगिनीका लागि चाड सोपरले ३ तथा काबुआ मोरिया र नर्मन भानुआले २-२ विकेट लिए। भने चार्ल्स अमिनीले १ विकेट लिएका थिए ।

यो जित सँगै दुई खेलको एकदिवसीय सिरिज नेपालले २-० ले जितेको छ । यसअघि नेपालले पहिलो खेलमा पपुवा न्युगिनीलाई २ विकेटले पराजित गरेको थियो ।

अब नेपालले यो सिरिज पछि आईसीसी विश्वकप लिग -२ अन्तर्गतको ओमान,अमेरिका र नेपाल सम्मलित त्रिकोणात्मक सिरिज खेल्नेछ । जसमध्य नेपालले सोमबार अमेरिकाको सामना गर्दा मंगलबार घरेलु टोली ओमानसँग खेल्नेछ । त्यसपछि नेपालले १७ तारिखमा अमेरिका र १९ तारिखमा ओमानको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्