onlinekhelkhabar.com

Complete website for Nepali Sports News

रुविनालाई भारतीय कम्पनी केआई स्पोर्ट्सको साथ

काठमाडौं (अनलाइन खेल खबर ) । नेपाली महिला राष्ट्रिय क्रिकेट टिमकी कप्तान रुविना क्षेत्रीलाई भारतीय स्पोर्ट्स सामाग्री निर्माता कम्पनी के आई स्पोर्ट्सको साथ प्राप्त भएको छ ।

भारतको राजधानी दिल्लीमा मुख्य केन्द्र रहेको यस कम्पनीले रुविनालाई एक वर्षका लागि प्रायोजन गर्ने भएको छ । त्यसका लागि रुविना र कम्पनीको नेपाल प्रतिनिधि लेभिन स्पोर्ट्स म्यानेजमेन्ट प्रा.लि बीच सम्झौता पत्रमा हस्ताक्षर समेत भएको थियो ।

सम्झौता अनुरुप ब्रान्ड प्रवर्द्धन गरेवाफत रुविनाले केही रकमसहित कम्पनीले उत्पादन गरेका सामाग्री प्राप्त गर्नेछिन् । विशेषत:कम्पनीले उत्पादन गर्दै आएका क्रिकेट सामाग्री नेपाली खेलाडीहरुले पनि प्रयोग गर्दै आएका छन् ।

कम्पनीसँग जोडिन पाउँदा आफुलाई खुशी लागेको बताउँदै लेभिन स्पोर्ट्सलाई रुविनाले धन्यवाद ब्यक्त गरेकी छिन् ।

रुविनाको नेतृत्वमा रहेको नेपाली टोलीले अब काठमाडौंमा आईसीसी टी-ट्वान्टी विश्वकप छ्नोट प्रतियोगिताका लागि तयारीमा जुट्दै छ । त्यसका लागि नेपाल क्रिकेट संघ (क्यान ) ले सुरुवाती २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।